नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको वरीयतामा

गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमि दूरी ४ घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि मंगलेको नाम विश्व वरीयतामा लेखिएको हो ।

पुस १०, २०८२

रुपा गहतराज

Nepalgunj's Mangale Tamang tops World Marathon rankings

नेपालगन्ज — नेपालगन्जका ६८ वर्षीय मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा नेपालबाट सूचीकृत धावक बनेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ निवासी उनी पहिलोपटक वर्ल्ड वरीयतामा परेका हुन् । वर्ल्ड म्याराथन मेजर्सको ६५–६९ वर्ष उमेर समूहमा मंगले विश्व वरीयताको २६७८ नम्बरमा रहेका छन् ।

गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमि दूरी ४ घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि मंगलेको नाम विश्व वरीयतामा लेखिएको हो । उनको जन्म २०१५ असार २७ गते भएको थियो।

संसारका उत्कृष्ट म्याराथन रेसहरूलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वर्ल्ड  म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकको सूचीकृत गर्दै वरीयताक्रम निर्धारण गर्छ । साथै मेजर म्याराथनको नतिजा र इलाइट रनरहरुको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृतसमेत गर्छ ।

मंगलेको उपलब्धिमा वडा नं १२ का वडाध्यक्ष तरुण बज्राचार्यले खुसी व्यक्त गरे । ‘६८ वर्षको उमेरमा पनि मंगले दाइले प्राप्त गरेको उपलब्धि वडाको मात्र नभई सिंगो सहरका लागि गर्वको विषय हो,’ उनले भने,‘यसले दौड संस्कृतिको विकासमा टेवा पुग्छ, समाजलाई स्वस्थ बनाउन सघाउँछ, साथै नेपालगन्जलाई अन्तर्राष्ट्रिय मन्चमा स्थापित गर्दै जानेछ ।’

त्यसैगरी सिकागो म्याराथनमा  ३:३३:०८ को समय निकालेका नेपालका अशोककुमार चापागाईं ६०–६४ वर्ष उमेर समूहमा विश्व वरीयताको १७०३ नम्बरमा छन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully