चमनपुरका विशाल पटेलले ४ ओभरमा १६ रन दिई ५ विकेट लिए । एकै खेलमा सर्वाधिक विकेट हात पार्ने चमनपुर सुपर किंग्सका विशाल पटेल प्लेयर अफ दी म्याच भए ।
What you should know
रौतहट — चन्द्रपुर मेयर कप लिग टी–२० प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत बिहीबार सम्पन्न चन्द्रपुर प्रिमियर लिगमा समनपुर बोल्ट्सलाई ३७ रनले पराजित गरी चमनपुर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ ।
चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको चमनपुरले पहिलो पारीमा १४ चौका र ८ छक्काको मद्दतले ३ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो ।
अभिषेक तिवारीले २३ बलमा अविजित ५४ रन बनाए । एमडी समीरले ४१ बल खेलेर ४६ रन बनाए । प्रज्वल थापाले ३४ बल खेलेर ३८ रन बनाए । राज पटेलले ११ बलमा १० रन जोडे । राजेश यादवले ४ बल खेल्दै अविजित १२ रन बनाए । नविन यादवले ७ बल खेलेर ८ रन बनाए । चमनपुरका खेलाडीले अन्तिम ३ ओभरमा ५१ रन जोडेका थिए । समनपुर बोल्ट्सका नितेष यादव, सुमित श्रेष्ठ र संजय साहले १/१ विकेट लिए ।
१ सय ८० रनको विजयी लक्ष्य पछ्याएको समनपुर बोल्ट्स १८.४ ओभरमा सबै विकेट गुमाई १ सय ४२ रनमा सीमित भयो । सुमित श्रेष्ठले ४५ बल खेलेर शानदार ६३ रन बनाए । अन्य खेलाडी क्रिजमा जम्न नसकेपछि समनपुरले हार ब्यहोर्नु पर्यो । समनपुर बोल्ट्सका रेहान जाकिरले ११ बल खेलेर २२ रन बनाए । फिरदोश अन्सारीले २३ बल खेलेर १८ रन बनाए । राकेश कामतले ८ बल खेलेर ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
चमनपुरका विशाल पटेलले ४ ओभरमा १६ रन दिई ५ विकेट लिए । राजेश यादव, अभिषेक तिवारी, रन्जित कुमार र एमडी समिरले १/१ विकेट लिए । खेलमा सर्वाधिक विकेट हात पार्ने चमनपुर सुपर किंग्सका विशाल पटेल प्लेयर अफ दी म्याच भए ।
