महिला क्रिकेटलाई पुनर्निर्माण गर्ने योजनामा क्यान
What you should know
काठमाडौँ — जनवरी दोस्रो साता काठमाडौंमा सुरु हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल सबैभन्दा कमजोर टोलीको रूपमा रहन सक्छ । पहिलो पटक महिला ट्वान्टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गरिरहेको र प्रतिस्पर्धी १० टोलीमध्ये वरीयतामा नेपाल नवौं स्थानमा रहेकाले नेपाली टोली कमजोर देखिनुको कारण हो ।
नवनियुक्त नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक हर्शल पाठक भने निकै सकारात्मक छन् । ‘हामीसँग महिला ट्वान्टी–२० विश्वकपमा छनोट हुने राम्रो सम्भावना छ,’ नेपाल क्रिकेट संघ (क्यान) द्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक पाठकले भने ।
यसअघि नेपालले प्रतियोगिता विशेष विदेशी प्रशिक्षकलाई परामर्शदाताको रूपमा ल्याउने गरे पनि पाठक नेपाली महिला टोलीको पहिलो ‘फुलटाइम’ विदेशी प्रशिक्षक हुन् । मुख्य पक्ष त उनीसँग यसअघि विश्वकपमा टोली डोर्याएको अनुभव पनि छ । भारतीय यी प्रशिक्षकको नेतृत्वमा थाइल्यान्डले सन् २०२० को ट्वान्टी–२० विश्वकप खेलेको थियो भने २०२२ मा पाकिस्तानलाई पराजित गर्दै थाइ टोली एसिया कपको सेमिफाइलनसम्म पुगेको थियो ।
‘म नेपाली क्रिकेटको हिस्सा बन्न चाहन्थें, किनभने प्रतिद्वन्द्वी टोलीको रूपमा पनि मैले नेपाली क्रिकेटलाई नजिकबाट हेरिरहेको थिएँ । नेपाली खेलाडीहरूको खेलप्रतिको लगावका कारण म प्रभावित भएर यहाँ आएको छु,’ प्रशिक्षक पाठकले भने, ‘नेपाल विश्वकपमा छनोट हुन्छ भन्नुका केही कारण छन् । पहिलो, यो नेपालमै भइरहेको छ र नेपाली टोलीले घरेलु मैदानमा खेल्दा ठूलो समर्थन पाउने छ । दोस्रो, नेपालसँग यो अवस्थामा प्रतिद्वन्द्वीसँग खेल्ने अनुभव पनि छ ।’
नेपालले जनवरी १४ देखि फेब्रुअरी ३ सम्म आयोजना गर्ने १० राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन् । समूह ‘बी’ मा नेपालसहित नेदरल्यान्ड्ससहित जिम्बावे, थाइल्यान्ड र स्कटल्यान्ड छन् । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदानमा हुनेछ ।
नेपालले जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी र जनवरी १६ मा अमेरिकासँग कीर्तिपुरमा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले जनवरी १८ मा थाइल्यान्डसँग, जनवरी २२ मा नेदरल्यान्ड्ससँग, जनवरी २४ मा जिम्बावेसँग र जनवरी २६ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ । नेपालले जिम्बावे र स्कटल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । महिला ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली प्रशिक्षणमा छ । प्रशिक्षक पाठक आइतबार नेपाल आइपुगेका हुन् । उनले आउनेबितिकै मूलपानीमा नेपाली महिला क्रिकेट टोलीको सुपर ओभर हेर्न पाएका थिए । यसलाई उनी न्यानो स्वागतको रूपमा लिन्छन् ।
‘मैले हेर्दा खेलाडीहरू राम्रोसँग खेलिरहेका थिए, मुख्य कुरा उनीहरूमा ठूलो उद्देश्य देखिएको थियो,’ पाठकले भने, ‘हातमा ब्याट हुँदा उनीहरू आउट हुन चाहँदैनथे र हातमा बल हुँदा विकेट लिन खोज्थे । यसले उनीहरूको प्रतिस्पर्धात्मक स्तर देखाउँछ,’ पुनेका उनी आफू ठूलो उद्देश्य बोकेर नेपाल आएको सुनाउँछन् ।
उनीसँग दुई वर्षको सम्झौता गरेको क्यानका क्रिकेट म्यानेजर विनोद दास बताउँछन् । ‘हामीले उहाँ (पाठक) लाई महिला ट्वान्टी–२० विश्वकप छनोटलक्षित गरेर मात्र होइन, महिला राष्ट्रिय टोलीको प्रशिक्षकको हैसियतसँगै सबै महिला क्रिकेट गतिविधि हेर्ने उद्देश्यको जिम्मेवारी दिएर ल्याएका छौं,’ दासले भने, ‘हामीले महिला क्रिकेटलाई पुनर्निर्माण गर्ने योजना बनाएका छौं, पाठकले त्यसको नेतृत्व लिनेछन् ।’
महिला ट्वान्टी–२० विश्वकप छनोटको नतिजाले पाठकलाई ल्याउनुको उद्देश्यमा कुनै फरक नपार्ने दास बताउँछन् । उनले नेपाली महिला टोलीले उमेर समूहको प्रतियोगिताहरू खेल्दा पाठकले नै त्यसमा प्रशिक्षकको भूमिका निभाउने जानकारी गराए ।
‘हामीले सानै उमेरदेखि नै प्रतिभाको विकास गर्न आवश्यक छ, त्यसैले हामी जुनियर क्रिकेटमा बढी लगानी गर्नेछौं,’ पाठक भन्छन्, ‘युवा खेलाडीमा सहि क्रिकेटको आचरण र मूल्यहरू विकास गराउने छौं । खेलाडीहरूले क्रिकेटको प्राविधिक पक्ष चाँडो बुझे भने त्यसलाई स्किलमा परिवर्तन गर्न सजिलो हुनेछ । नेपाली क्रिकेटमा राम्रो सम्भावनाहरू देखेर म यहाँ आएको छु ।’
