के आर्सनललाई क्रिसमस फाप्ने छ ?

आर्सनल यसअघि चारपल्ट क्रिसमसका बेला अगाडि रहेको बेला कुनै पनि अवसरमा प्रिमियर लिग जित्न असफल रहेको छ ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Will Arsenal have a Christmas break?

What you should know

लन्डन (एएफपी) — म्यानचेस्टर सिटीलाई दोस्रो स्थानमा रोक्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा छ ।

भिक्टर ग्योकोरेसले पेनाल्टीबाट गरेको एकमात्र गोलबाट आर्सनलले एभरटनलाई १–० ले हराएको थियो । अर्को महत्त्वपूर्ण खेलमा लिभरपुलले ९ खेलाडीमा सीमित टोटनहमलाई हरायो ।

मोहम्मद सलाहविना पनि अहिले लिभरपुल लय समात्ने प्रयासमा छ । अंकतालिकाको पुछारमा रहेको उल्भसलाई भने कसैले नचाहने कीर्तिमान जोडिने डर छ । ब्रेन्टफोर्डविरुद्धको खेल गुमाएपछि उल्भस लगातार १० खेलको हारको क्रममा छ । यस सप्ताहन्त प्रिमियर लिगमा चर्चाका तीन बुँदा यी रहे :

एभरटनविरुद्धको खेल जितेपछि आर्सनल क्रिसमस बेला अंकतालिकामा शीर्षमा रहनेछ । चार वर्षयतामा आर्सनल यो समय अगाडि रहने तेस्रोपल्ट हुनेछ । त्यसो त क्रिसमसका बेला शीर्षमा रहनु च्याम्पियन हुने टिमको संकेत हो । तर यही तथ्य आर्सनलका लागि भने लागू हुन्न ।

आर्सनल यसअघि चारपल्ट क्रिसमसका बेला अगाडि रहेको बेला कुनै पनि अवसरमा प्रिमियर लिग जित्न असफल रहेको छ । यसको पछिल्लो दुई उदाहरण त सन् २०२२–०२३ र २०२३–०२४ मै रहेको छ । ती दुवै अवसरमा लिग उपाधि जित्ने टिम थियो म्यानचेस्टर सिटी । अझ खास कुरा त के भने पछिल्ला ५ क्रिसमसमा अगाडि रहेको टिमले लिग नजित्दा च्याम्पियन हुने टिम सिटी नै रहेको छ ।

यही पृृृृृष्ठभूमिमा आर्सनलको उद्देश्य छ, २२ वर्षयता पहिलो पटक लिग जित्ने । प्रशिक्षक मिखेल आर्टेटा भन्छन्, ‘अहिले टिमले जसरी लगातार राम्रो खेलिरहेको छ, त्यसले मलाई आत्मविश्वास प्रदान गर्छ । प्रिमियर लिगमा कुनै पनि टिमका लागि यस्तो लगातार राम्रो खेल्नु सजिलो होइन ।’

टोटनहमले ठ्याक्कै खराब खेलिरहेको छैन । तर, त्यही अनुसार नतिजा भने निकाल्न सकिरहेको छैन । यसले प्रशिक्षक थोमस फ्रान्क भने चर्को दबाबमा छन् । लिभरपुलविरुद्ध घरमै बेहोरेको हारमा पनि टोटनहमको प्रदर्शन उम्दा रहन सकेन । यो हारमा केही दोष प्रशिक्षक फ्रान्कले रेफ्रीको गलत निर्णयलाई दिएका छन् ।

तर आलोचक के मान्छन् भने उनको नेतृत्वमा टोटनहमले त्यस्तो प्रदर्शन गर्न सकिरहेको छैन, जस्तो अपेक्षा थियो । पछिल्लो समय टोटनहमका जति प्रशिक्षक छन्, ती सबै लगभग यस्तै स्थितिमा पर्दै आएका छन् । घरमा खेलेका पछिल्ला ९ खेलबाट टोटनहमले ८ अंकमात्र बटुल्न सकेको छ्, यसले टिमको प्रदर्शनबारे प्रस्ट पार्छ ।

उल्भस यसपल्ट रेलिगेसनमा पर्ने निश्चित जस्तै भएको छ । यति भन्दाभन्दै उल्भसको एउटै लक्ष्य हुनेछ, अहिलेको टिम कम्तीमा प्रिमियर लिग इतिहासकै सबैभन्दा खराब टिम नहोस् । ब्रेन्टफोर्डसँग हारेपछि पुछारमा रहेको उल्भसले १७ खेलबाट कमाएको अंक भन्नु नै २ मात्र रहेको छ । इंग्लिस फुटबल इतिहासकै पुरानो क्लबमध्ये एक उल्भस अहिले साँच्चै दयनीय स्थितिमा छ ।

क्लबको इतिहास केही नभए पनि १ सय ४८ वर्ष पुरानो छ । यही बेला टोलीले पहिलो पटक लगातार १० खेल गुमाएको छ । प्रिमियर लिगमा अहिलेसम्मकै सबैभन्दा खराब टिम भनेको डर्बी रहेको छ । सन् २००७–०८ मा रेलिगेसनमा पर्ने क्रममा टोलीले ११ अंकमै चित्त बुझाएको थियो । उल्भसको चाहना हुनेछ, कम्तीमा यो भन्दा राम्रो स्थिति होस् ।

कान्तिपुर

Link copied successfully