नेपालबाट खेल्ने शाश्वतको इच्छा

स्विडेनको सफल फुटबल क्लब माल्मोबाट खेल्ने शाश्वत राना नेपाली राष्ट्रिय टोलीबाट खेल्न चाहन्छन्

पुस ८, २०८२

हिमेश

Shashwat's desire to play for Nepal

What you should know

काठमाडौँ — स्विडेनको सबैभन्दा सफल फुटबल क्लब हो, माल्मो । यसले नियमित जस्तै युरोपेली च्याम्पियन्स लिग खेलिरहन्छ । आखिरमा यो त्यही क्लब हो, जहाँबाट ज्लाटन इब्राहिमोभिचले खेल्न सुरु गरेका थिए ।

उनी माल्मो सहरमै जन्मेहुर्केका हुन् । यो भयो, धेरैअघिको कुरा । अहिले यही क्लबमा एक नेपाली खेलाडी व्यवसायिक रूपमा आबद्ध छन् । उनी हुन्, शाश्वत राना ।

गत नोभेम्बरमै मात्र माल्मोले ठूलो महत्त्व दिएर यी १८ वर्षीय खेलाडी शाश्वतलाई अनुबन्ध गरेको सामाचार सुनाएको थियो । अहिले यिनै शाश्वतको चर्चा किनभन्दा उनी अहिले काठमाडौंमा छन्, व्यक्तिगत कामले । चाँडै माल्मोमै फर्किंदै छन् । व्यावसायिक अनुबन्धका कारण उनले नेपाली मिडियासँग खुलेर कुरा गर्न पाएनन् । जति समय काठमाडौंमा बसे, नेपाली फुटबलसँग नजिक रहे अनि राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दलाई पनि भेटे ।

उनको इच्छा छ, नेपाली राष्ट्रिय टिमबाटै खेल्ने । उनको पासपोर्ट पनि नेपाली नै रहेको छ । तर, उनी जन्मेहुर्केको भने डेनमार्कमा हो । करातेका पूर्व खेलाडी रहेका उनका बुवा विवेक राना दुई दशकअघि डेनमार्क सरेका थिए । उनी अहिले पूर्णतः आफ्नो छोराको फुटबल करियरका लागि भनेर त्यसमै मात्र व्यस्त हुने गर्छन् । राना परिवारको आशा र विश्वास दुवै छ, कुनै दिन शाश्वतले युरोपको अझै ठूलो क्लबबाट खेल्नेछ ।

Shashwat's desire to play for Nepalदक्षिण एसियाका अन्य देशले आफ्नो मूलका विदेशी खेलाडी राष्ट्रिय टिमबाट खेल्ने अवसर दिन थालेको बेला नेपाली नागरिकतामै कायम रहेका शाश्वतलाई खेलाउन अझ कुनै कठिनाइ हुने छैन । त्यसो त म्याट रस नेपाली राष्ट्रिय टिमका प्रशिक्षक हुँदा उनीसँग सम्पर्कमा थिए । मलेसियाविरुद्धको खेल अगाडि उनीहरूबीच दोहोरो कुराकानी भएको थियो, तर त्यसले ठोस आकार भने लिन सकेन ।

शाश्वतको सबैभन्दा ठूलो विशेषता भन्नु नै नेपाली खेलाडीको रूपमा युरोपको व्यावसायिक क्लबसँग आबद्ध हुन सक्नु हो । अझ माल्मो त आफैंमा ठूलो क्लब हो । अहिलेका लागि उनी माल्मोको रिजर्भ टिमबाट खेलिरहेका छन् । विश्वास के छ भने उनले चाँडै मूल टिममा प्रवेश पाउनेछन् । अहिलेका लागि माल्मोले यी लेफ्ट ब्याक खेलाडीसँग तीन वर्षको अनुबन्ध गरेको छ ।

त्यतिबेला क्लबका सहायक स्पोर्ट्स डाइरेक्टर ओला टोइभोमाकीले भनेका थिए, ‘शाश्वत उत्कृष्ट खेलाडी हुन् । उनको सम्भावना धेरै छ । पछिल्लो दुई वर्षमा रक्षात्मक फुलब्याकका रूपमा उनको प्रदर्शन उच्च रहेको छ ।’ सानो छँदा उनी सात वर्षको उमेरमै डेनमार्कको हेलरपसँग आबद्ध भए । पछि लुम्बीले उनलाई अनुबन्ध गरिहाल्यो । उनको उच्च प्रदर्शनकै कारण १५ वर्षको उमेरमा एफसी कोपनहेगन पुगे ।

कोपनहेगन भने डेनमार्कको सबैभन्दा सफल क्लब हो । त्यहाँ पनि उमेर समूहको टिमबाट उच्च प्रदर्शनपछि शाश्वत माल्माले उनलाई आफ्नो बनाइहाल्यो । अनुबन्धका बेला उनले भनेका थिए, ‘माल्मो जत्तिको ठूलो क्लबसँग आबद्ध हुन पाउँदा निकै खुसी छु । यहाँ आएयता मेरो खेलमा पनि धेरै सुधार भएको छ । अब मेरो नजर सिनियर टिममा प्रवेश गर्नु छ । मैले आफैंले पनि त्यसअनुसार आफ्नो खेललाई अब्बल बनाउनुपर्नेछ ।’

लियोनल मेसीलाई आफ्नो आदर्श मान्ने अनि मैदानमा ब्राजिली खेलाडी मार्सेलोले जस्तो खेल्ने ५ फिट ११ इञ्च अग्ला शाश्वतको सबैभन्दा ठूलो सपना त प्रिमियर लिगतिर खेल्ने नै हो । त्यो पनि शीर्ष चारभित्र पर्ने क्लबका लागि । यति भन्दाभन्दै उनीभित्र नेपाली राष्ट्रिय टिमका लागि खेल्ने इच्छा भने ज्युँका त्युँ छ । के नेपाली टोली आफैं पनि उनलाई खेलाउनका लागि तयार छ त ?

हिमेश

Link copied successfully