इस्मा गाउँपालिकाको गौरवको योजनाका रूपमा पार्कसहित तयार खेल मैदानले इस्मा गाउँपालिका नै खेलकुदमय बनेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए ।
What you should know
गुल्मी — दुई साताअघि इस्मा गाउँपालिका-१ बीपी पार्कमा परिवर्तन युवा क्लबले खुल्ला पालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्यो । रुपन्देही देवदहबाट समेत सहभागिता जनाएको उक्त प्रतियोगिताभर इस्मा क्षेत्र खेलकुदमय बन्यो ।
अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको क्रिकेट मैदान गुणस्तरीय भएको भन्दै खेलाडीले प्रशंसा गरे । रुपन्देहीको देवदह प्रतियोगितामा च्याम्पियन बनेर नगद ५५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । इस्मा गाउँपालिका मुख्य प्रायोजक बनेको यो प्रतियोगिता नवनिर्मित पार्कको पहिलो प्रतियोगिता थियो ।
गत शनिबार मात्रै पनि बीपी पार्कस्थित खेलमैदान खेलकुदमय बन्यो । वनभोजका लागि पनि तयार यस पार्कको मैदानमा गुल्मेली कलाकार र गुल्मेली पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता संचालन भयो । जसमा १६ ओभरको खेलमा १ सय ९६ रनको विशाल लक्ष्य पाएको पत्रकार टोली १ सय २६ रनमा सीमित बन्यो । कलाकार टोली बिजेता बन्यो ।
मंगलबारदेखि जिल्लाभरकै विद्यार्थी सहभागी हुने गरी माध्यमिक तहका विद्यालयस्तरीय फुटबल प्रतियोगिताअन्तर्गत छैटौं फोर्टिन स्टार कप-२०८२ शुभारम्भ भएको छ । जसको सुरुवात छिमेकी नगरपालिका रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गरे । 'इस्मा गाउँपालिकाले निकै उत्कृष्ट खेलमैदान तयार गरेको छ,' उनले भने, 'विद्यालय तहबाटै प्रतिभा पहिचान हुन यस्ता प्रतियोगिता आवश्यक छन् ।'
प्रतियोगितामा १४ विद्यालयको सहभागिता रहेको छ । मंसिर १२ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा विजेताले नगद ३५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
मदन भण्डारी राजमार्गको छेवैमा इस्मा गाउँपालिका-१ झर्नास्थित जैढुंगा बीपी पार्क केही समयअघि मात्रै तयार भएको हो । आर्थिक वर्ष २०७९/८० मा पहिलो चरणमा पाँच लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/०८१ मा एक करोड रुपैयाँ र आर्थिक वर्ष २०८१/०८२ मा १ करोड २३ लाख रुपैयाँ बराबरको काम भएको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले जानकारी दिइन् । उनका अनुसार खेलमैदानमा सुरुवाती चरणबाटै काम सुरु गरिएको हो ।
खेलमैदानसहितको पार्कमा माटो बिछ्याउने, बाल लगाउने, ग्याभिन जाली, तारजाली घेराबार, बगैंचा निर्माण, पिकनिकका लागि संरचना तयार, फलफूलका बिरुवा रोपण, पिउने पानीको व्यवस्था, पार्किङ स्थल व्यवस्थापन र सम्पूर्ण तरिकाबाट खेलमैदान व्यवस्थापन गरिएको थियो ।
इस्मा गाउँपालिकाको गौरवको योजनाका रूपमा पार्कसहित तयार खेलमैदानले इस्मा गाउँपालिका नै खेलकुदमय बनेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । 'दीर्घकालीन सोचका साथ स्वर्गद्वारी र मुक्तिनाथको बीच क्षेत्रमा हामीले यसरी पार्कसहित गुणस्तरीय खेलकुद मैदान बनाएका छौं,' उनले भने, 'यहाँ भएका पछिल्ला खेलकुद गतिविधिले थप हौसला थपेको छ ।'
