अन्तर स्कुल क्रिकेट : सरस्वती र सत्यनारायण फाइनलमा भिड्दै

मंगलबारको खेलमा सत्यनारायणका सागर यादव उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए र प्लेयर अफ द म्याच घोषित भए ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Inter-school cricket: Saraswati and Satyanarayan to face each other in the final

What you should know

विराटनगर — यहाँका सरस्वती र सत्यनारायण स्कुल चौथो विराटनगर हब अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । उपाधिका लागि टोलीले बुधबार प्रतिस्पर्धा गर्नेछ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा मेरिलेबोन विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको अर्किड स्कुलले २० ओभरको खेलमा १४ दशमलव २ ओभरमै सबै विकेट गुमाउँदै ७२ रन जोड्यो । अर्किडका अभय कामतले १६ रन बनाए । सरस्वतीका प्रशान्त यादवले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ७ विकेट लिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।

७३ रनको विजय लक्ष्यसहित मैदान ओर्लिएको सरस्वती स्कुलले १५ दशमलव ३ ओभरमा ४ विकेटको क्षति व्यहोर्दै लक्ष्य पूरा गर्‍यो । सरस्वतीका प्रशान्त यादवले अविजित २५ रन बनाउँदा दिगम्बर यादवले २२ रनको योगदान दिए । अर्किडका अभय कामतले २ विकेट लिए ।

दोस्रो सेमिफाइनल खेलमा सत्यनारायण स्कुलले ग्रिनपिस स्कुललाई ३३ रनले पराजित गर्‍यो । 

टस जितेर ब्याटिङ गरेको सत्यनारायण स्कुलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रनको प्रतिस्पर्धात्मक योगफल बनायो । टोलीका मनिस कामतले ३२ रन बनाउँदा सागर यादवले अविजित ३१ रन जोडे । ग्रिनपिसका महमद समिम र मिराज शेखले समान २–२ विकेट लिए ।

१ सय ४१ रनको विशाल लक्ष्य पछ्याएको ग्रिनपिस स्कुलले पूरा ओभर खेले पनि ८ विकेट गुमाएर १ सय ७ रनमै समेटियो । ग्रिनपिसका सोहेब आलमले ४४ रनको योगदान दिए । सत्यनारायणका सागर यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए र प्लेयर अफ द म्याच घोषित भए ।

कान्तिपुर

Link copied successfully