सन् १९२१ मा आठ दिनमै इंग्ल्यान्डले शृंखला गुमाएको थियो, अहिलेको हारले इंग्ल्यान्डको बजबल (आक्रामक) रणनीतिमै प्रश्न
What you should know
एडिलेड — अस्ट्रेलियाले तेस्रो टेस्ट जित्दै आइतबार एसेज शृंखलामाथि कब्जा गरेपछि कप्तान प्याट कमिन्सले आफूहरू खुसी रहेको बताएका छन् । मैदानमा ११ दिनको खेलपछि नै इंग्ल्यान्डले शृंखलामा आफ्नो पकड गुमाएको हो । तेस्रो टेस्टको अन्त्यतिर इंग्ल्यान्डले केही बलिया चुनौती तेर्स्याए पनि त्यो निर्णायक हुन सकेन ।
इंग्ल्यान्डका लागि अन्तिम चार विकेटले अन्तिम दिन १ सय ४५ रन थपेको थियो । तर पूरा टिम ३ सय ५२ रन बनाएर अलआउट भयो र हारको अन्तर रह्यो, ८२ रन । इंग्ल्यान्डले जितका लागि ४ सय ३५ रन पछ्याइरहेको थियो । अस्ट्रेलियाली बलर स्कट बोलान्डले अन्तिम विकेटका रूपमा जस टङ्गको विकेट हात पारे । उनी मार्नस लबुसेनद्वारा समातिए । यससँगै अस्ट्रेलियाली खेलाडी र समर्थकले खुसियाली मनाए । यस्तोमा सिरिज अस्ट्रेलियाकै पक्षमा रह्यो ।
‘साँच्चै निकै सुखद अनुभव भइरहेको छ,’ कमिन्सले भने, ‘तर यसपल्टको जित सहज भने रहेन । हामीले यसका लागि लड्नुपर्यो । पछिल्लो दुई महिना हाम्रा लागि कडा मिहिनेतले भरिएको रह्यो । तर अन्त्यमा हामी जितका लागि हकदार पनि रह्यौं । निर्णायक मोडमा हामी नै उत्कृष्ट सावित भयौं । जसरी सबै खेलाडीले आफूले सक्दो खेले, त्यसले हामी कस्तो टिम हौं, देखाएको छ ।’
पाँच टेस्टको शृंखलामा इंग्ल्यान्डलाई आफ्नो चुनौती कायम राख्ने हो भने त्यसलाई जित्न आवश्यक थियो । इंग्ल्यान्ड पर्थमा दुई दिनभित्र र ब्रिसवेनमा चार दिनभित्र पराजित भएको थियो । अब शृंखलाका बाँकी दुई टेस्ट मेलबर्न र सिड्नीमा हुनेछन् । आइतबार अस्ट्रेलियाका लागि दुःख लाग्ने एउटै तथ्य रह्यो र त्यो थियो, नथान लियोनलाई लागेको चोट र यससँगै उनले गुमाएको दिनको खेल ।
बाउन्ड्री जोगाउने क्रममा उनी घाइते भएका हुन् । तर बलिङ आक्रमणमा उनको आवश्यकता नै परेन, मिचेल स्टार्क, कमिन्स र बोलान्डले सबै काम गरे । अहिलेको चोटको निरीक्षणपछि मेलबर्नमा हुने चौथो टेस्टमा उनको अनुपस्थिति निश्चितजस्तै मानिएको छ । जनवरी ४ देखि सिड्नीमा हुने टेस्टमा पनि उनलाई फर्किन गाह्रो हुनेछ । ‘लियोनलाई जे भयो, राम्रो भएन,’ कमिन्सले माने ।
‘अबको टेस्ट यति नजिक हुँदा उनको खेल्ने सम्भावना धेरै रहेको छैन । उनको स्थानमा अर्को खेलाडी पाउन पनि गाह्रो छ । तर हामीसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव भएका खेलाडीको कमी छैन,’ उनले थपे । कमिन्स आफैं जुलाईयता पहिलो पटक टेस्ट क्रिकेट खेलिरहेका हुन् । उनलाई ढाडको समस्या छ र यसबाटै जोगिन कमिन्स आफैंले मेलबर्नमा नखेल्न सक्नेछन् ।
उनले भने, ‘हेरौं के हुनेछ । अबको एकाध दिनमा यसबारे निर्णय भने गर्नुपर्नेछ । मेलबर्नमा खेल्नेमा मलाई आफैं शंका छ । सिड्नीका लागि भने म तयार हुन सक्नेछु ।’ इंग्ल्यान्डले भने सय वर्षयता पहिलो पटक ११ दिनको खेलभित्र शृंखला गुमाएको छ । सन् १९२१ मा आठ दिनमै इंग्ल्यान्डले शृंखला गुमाएको थियो । अहिलेको हारले इंग्ल्यान्डको बजबल (आक्रामक) रणनीतिलाई लिएर ठूलो प्रश्न उठेको छ ।
‘हामी सबै दुःखी छौं, निराश पनि उत्तिकै छौं, हाम्रो एसेज सपना यति चाँडै तुहिएको छ,’ इंग्लिस कप्तान बेन स्टोक्सले भने, ‘हामीलाई अथाह पीडा भइरहेको छ । ठीक यही बेला हामी भावनात्मक रूपमा पनि कमजोर भएका छौं । तर हामी यत्तिकैमा रोकिने भने छैनौं ।’ उनले तेस्रो टेस्टमा आफ्नो टिमको प्रदर्शनमा सकारात्मक पक्ष पनि रहेको बताए, जसरी उनीहरूले ब्याटिङ गरे ।
स्टोक्सले भने, ‘म इंग्ल्यान्ड टिमबाट यस्तै प्रदर्शनको अपेक्षा राख्छु । यसपल्टको टेस्टमा हामीले केही राम्रो खेल्यौं । यसलाई अब बाँकी टेस्टमा कायम राख्नुपर्नेछ । अझै शृंखलामा धेरै खेल्न बाँकी छ । अब हाम्रो ध्यान यिनै दुई टेस्टमा केन्द्रित हुनेछ ।’ शृंखला सुरु हुन अगाडि इंग्ल्यान्डसामु धेरै लामो समयपछि अस्ट्रेलियाली भूमिमा एसेज जित्ने अवसर रहेको मानिएको थियो तर यो सबै असत्य सावित भयो ।
अझ अस्ट्रेलियाली भूमिमा इंग्ल्यान्डले टेस्ट जित्न नसकेको पनि १८ टेस्ट पुगेको छ । इंग्ल्यान्डले अन्तिम पटक सन् २०१०–२०११ मा यहाँ टेस्ट जितेको थयो । इंग्ल्यान्डको भ्रमणका पछिल्ला सिरिजमा हारको अन्तर पनि अस्ट्रेलियाको पक्षमा एकोहोरो रहेको छ, जस्तो, ५–०, ४–० र ४–० । अहिलेको सिरिजमा भने यस्तै स्थिति ३–० को छ । स्टोक्सले जस्तै दाबी गरे पनि अबका दुई टेस्ट पनि उत्तिकै गाह्रो हुनेछ, इंग्ल्यान्डलाई ।
लथान र कनवेको कीर्तिमानी प्रदर्शन
न्युजिल्यान्डका ओपनर जोडी टम लथान र डेभन कनवेले आइतबार टेस्ट क्रिकेटमा दुर्लभ ऐतिहासिक कीर्तिमान बनाएका छन् । उनीहरू टेस्ट इतिहासमै सँगसँगै दुवै इनिङ्समा शतक बनाउने पहिलो जोडी भएका छन् । यसक्रममा न्युजिल्यान्डले वेस्ट इन्डिजसामु तेस्रो तथा अन्तिम टेस्टमा ४ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्यसको जवाफमा वेस्ट इन्डिजले बिनाविकेटको क्षति ४३ रन बनाएको छ । पाहुना टिमलाई जितसम्म पुग्न अन्तिम तथा पाँचौं दिन अझै ४ सय १९ रनको अवाश्यकता छ । न्युजिल्यान्डले आफ्नो दोस्रो इनिङ्स दुई विकेट गुमाएर ३ सय ६ रनमा टुंगेको घोषणा गरेको थियो ।
लथानले पहिलो इनिङ्समा १ सय ३७ रन बनाएका थिए भने दोस्रोमा जोडे, १ सय १ रन । यस्तै कनवेले पहिले इनिङ्समा २ सय २७ रन जोडेका थिए, दोस्रोमा ठ्याक्कै सय रन बनाए । यसक्रममा उनीहरूले एकआपसमा मिलेर एकै टेस्टमा ५ सय १५ रन बनाए ।
यो टेस्ट क्रिकेटमा ओपनर जोडीले एकै खेलमा बनाएको कीर्तिमानी रन रहेको छ । यस्तै कनवे एकै टेस्टमा दोहोरो शतक र शतक बनाउने दसौं ब्याटर बनेका छन् । यसअघि यस्तै उपलब्धि ग्रेग च्यापल, सुनील गावस्कर, शुभमन गिल, ग्राहम गुच, मार्नस लबुसचेन, ब्रायन लारा, लरेन्स रो, कुमार संगकरा र डउग वाल्टरले मात्र चुमेका छन् ।
