ज्ञानदाका अलराउन्डर कप्तान चन्दन राम ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
पर्सा — वीरगन्जमा जारी नेसनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा ज्ञानदा एकेडेमीले अल्पाइन हाइस्कुल वीरगन्जलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको ज्ञानदाले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९९ रनको ठूलो योगफल तयार पार्यो ।
ज्ञानदाका लागि चन्दन रामले अविजित रहँदै सर्वाधिक ५३ रन जोडे । प्रियांस सर्राफले ४९, समिम मियाँ तेलीले ३१ र विवेक प्रजापतिले ३२ रनको योगदान गरेका थिए । जय सर्राफले १३ बनाए । अल्पाइनका समिर आलम, सेराजुद्दीन मन्सुरी, रोहित यादव र सहबाज अन्सारीले १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गर्दा अल्पाइन हाइस्कुल २० ओभरमा ९ विकेटको क्षतिमा ८२ रनमै समेटिन पुग्यो । उसका रोहित यादवले सर्वाधिक १७ रन बनाए ।
ज्ञानदाका कप्तान चन्दन रामले तीन, प्रियांस सर्राफले दुई, रोबिन कुम्हाल, मोहम्मद सहिन, मोहम्मद सोहेल अत्तारी र मुना यादवले १/१ विकेट लिएका थिए ।
ज्ञानदाका अलराउन्डर कप्तान चन्दन राम ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
