आइतबार सम्पन्न पहिलो क्वाटरफाइनलमा ग्रिनपिस स्कुलले ग्रिनल्यान्ड स्कुललाई ५ विकेटले पराजित गर्यो ।
विराटनगर — नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा जारी चौथो विराटनगर हब अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा ग्रिनपिस र सरस्वती स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार सम्पन्न पहिलो क्वाटरफाइनलमा ग्रिनपिस स्कुलले ग्रिनल्यान्ड स्कुललाई ५ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको ग्रिनल्यान्डले निर्धारित २० ओभरमा १७ दशमलव २ बलमा सबै विकेट गुमाउँदै ९२ रन बनायो । ग्रिनल्यान्डका प्रिन्स यादवले सर्वाधिक १९ रन जोडे । ग्रिनपिसका मेराज शैख र महमद समिमले समान ३–३ विकेट लिए ।
जवाफमा ९३ रनको लक्ष्य पछ्याएको ग्रिनपिसले १० दशमलव ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । जसमा महमद मफुजले सर्वाधिक १८ रनको योगदान दिए । ग्रिनल्याण्डका इवान राईले २ विकेट लिए ।
दोस्रो क्वाटरफाइनलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ६ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको आदर्शले १४ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै ५७ रन बनायो । आदर्शका आरिफ रैनले १४ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । सरस्वतीका सुरज मण्डलले सर्वाधिक ४ विकेट लिए । उनी म्यान अफ द म्याच पनि भए ।
जवाफमा ५८ रनको लक्ष्य पछ्याएको सरस्वतीले ११ दशमवल २ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । विकास कामतले सर्वाधिक ११ रन बनाए । आदर्शका धनन्जय सहनीले ३ विकेट लिए ।
