इस्ट बंगाल बन्यो च्याम्पियन

साफ वुमेन्स क्लब च्याम्पियनसिपको फाइनलमा इस्ट बंगालले नेपाली क्लब एपीएफविरुद्ध एकपक्षीय नतिजा निकाल्यो

पुस ६, २०८२

हिमेश

East Bengal became the champion

What you should know

काठमाडौँ — साफ वुमेन्स क्लब च्याम्पियनसिप फुटबलले इस्ट बंगालका रूपमा शनिबार त्यस्तो विजेता पाएको छ, जसलाई ‘साँच्चैको च्याम्पियन’ भन्न सकिनेछ । पूरा प्रतियोगितामा इस्ट बंगाल अपराजित रह्यो ।

त्यतिमात्र होइन, ५ खेलमा भारतीय टोलीले एकै गोल पनि खाएन । फाइनलमा पनि एपीएफ क्लबमाथि इस्ट बंगालको जित एकोहोरो जस्तै रह्यो । प्रतियोगिताका लागि नेपाल झरेयता प्रशिक्षक एन्थोनी सामसनले भनेका थिए, ‘इस्ट बंगाल काठमाडौं घुम्नमात्र आएको होइन, जित्नकै लागि आएको हो ।’ 

भारतीय च्याम्पियन रहेको इस्ट बंगालले इमान्दारीपूर्वक त्यो वचन कायम राख्यो । यो वर्ष इस्ट बंगालले जितेको यो तेस्रो प्रतियोगिता हो । यो नै विशेष किन पनि रह्यो भने टोलीले जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसैले प्रशिक्षक सामसनले भने, ‘इस्ट बंगाल मात्र होइन, पूरा भारतीय महिला फुटबलकै लागि पनि यो उपाधिको विशेष अर्थ रहनेछ । यो सफलताले धेरै किशोरीलाई फुटबलमा प्रवेश गर्न प्रेरित गर्नेछ । त्यसैले हामीलाई अहिलेको यात्रामा खुसी र गर्व रहनेछ ।’

East Bengal became the champion

एपीएफका लागि फाइनल मात्र होइन, पूरा प्रतियोगिता नै निराश रह्यो । विशेषतः एपीएफको आक्रमण कमजोर बन्यो । एपीएफ प्रशिक्षक जीवेश पाण्डेले भने, ‘हामी कोही पनि प्रतियोगिताको प्रदर्शनमा सन्तुष्ट छैनौं । फाइनलमा हामीले सोचेजस्तो प्रदर्शन गर्न सकेनौं । हाम्रो लगभग सबै ठाउँमा कमजोरी देखियो । यसमा एकै जनाको मात्र भुल भयो भन्नु गलत हुन्छ । तर हाम्रा लागि प्रतियोगिता राम्रो अनुभव भने रह्यो । खेलाडीले राम्रो एक्सपोजर पनि पाए । अबका प्रतियोगिताका लागि टिम कसरी निर्माण गर्नुपर्छ भन्नेबारे हामीले राम्रो अनुभव बटुल्यौं ।’ 

फजिला निर्णायक

प्रतियोगितामा इस्ट बंगालले तय गरेको सुमधुर यात्रामा युगान्डाली खेलाडी फजिला इक्वापुट निर्णायक साबित भइन् । उनी नै प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन् र यसमा कसैको पनि दुईमत हुनेछैन । युरोपको वुमेन्स च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध काजकिस्तानको स्यामकेन्टका लागि गोल गरेको अनुभव भएकी इक्वापुटले बल र गतिमाथिको आफ्नो आकर्षक नियन्त्रणलाई प्रस्तुत गरिन् । उनकै नेतृत्वमा इस्ट बंगाल मैदानमा उत्रेको थियो । त्यस अर्थमा उनी प्रतियोगितामा पूरा छाइन् । 

East Bengal became the championफाइनलमा पनि उनले दुई गोल गरिन् । त्यसमध्ये पहिलो गोल २२ औं मिनेटमा सम्भव भयो । उनको प्रहार एपीएफकी गीता रानाको खुट्टाबाट ‘डिफेक्ट’ हुँदै गोलमा परिणत भएको थियो । त्यतिबेला गीता र गोलरक्षक अञ्जना रानामगरबीच स्पष्ट तालमेल अभाव देखिएको थियो । गोललगत्तै दुवै एकअर्कोलाई मैदानमै दोष दिइरहेका पनि देखिए । सिल्की देवीले ३५ औं मिनेटमा हेडबाट दोस्रो गोल थपिन् । त्यो स्थितिमा उनी एपीएफको पेनाल्टी एरियामा पूर्णतः ‘अनमार्क’ थिइन् र ‘फ्री हेडर’ को अवसर पाइन् । 

इक्वापुटले ४६ औं मिनेटमा दोस्रो गोल थपिन् । दोस्रो हाफ सुरु हुनेबित्तिकै सम्भव यस गोलमा एपीएफकी गोलरक्षक अञ्जनासामु बचाउनको पूरा सम्भावना थियो, तर बल उनको नियन्त्रणबाट फुत्किएर गोलमा परिणत भएको थियो । अन्यथा इक्वापुटको त्यस प्रहारमा खासै गति थिएन । प्रतियोगितामा यो उनको नवौं व्यक्तिगत गोल रह्यो । उनी सर्वाधिक गोलकर्ता पनि रहिन् । ‘फाइनलका तीनै गोल हाम्रै भुलले सम्भव भएको हो । यो हारको जिम्मेवारी हामी सबैले लिनुपर्छ,’ प्रशिक्षक पाण्डेले थपे । 

एपीएफमा सुधार आवश्यक

घरेलु फुटबलमा जस्तै राम्रो प्रदर्शन गरे पनि अन्तर्राष्ट्रिय मञ्चमा एपीएफको खराब प्रदर्शन कायम रह्यो । अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगितामा एपीएफका लागि फाइनल दसौं खेल थियो । त्यसमध्ये एपीएफ दुई खेलमा मात्र विजयी छ । यी दुवै खेल पनि अहिलेको प्रतियोगितामै कमजोर प्रतिद्वन्द्वीविरुद्ध मात्र प्राप्त भएको थियो । यस्तोमा प्रशिक्षक पाण्डेले माने, ‘एपीएफ टिममै सुधार आवश्यक छ ।’ उनको भनाइ थियो, ‘अबको टिममा एपीएफलाई घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो बनाउन थप नयाँ योजना आवश्यक पर्नेछ ।’ 

East Bengal became the championउनका समकक्षी प्रशिक्षक सामसनले भने इस्ट बंगाल यो प्रतियोगिता जित्नका लागि केही नभए पनि ६ महिनादेखि तयारीमा रहेको बताएका छन् । 

उनले भने, ‘यो सफलता हाम्रो कडा मिहिनेतले नै सम्भव भएको हो । त्यसैले हामी स्वाभाविक रूपमा खुसी नै छौं । यो वर्ष तीन उपाधि जित्न हामीले धेरै संघर्ष गरेका छौं । यो सजिलो काम थिएन अनि यसमा सबैको उत्तिकै योगदान छ, खेलाडी र प्रशिक्षकदेखि टिमसँग जोडिएका सबै । नेपाल आउनु अगाडि हामीले सबै प्रकारको गृहकार्य गरेर आएका थियौं । त्यसकै मीठो फल पाएका छौं ।’

हिमेश

Link copied successfully