साफ वुमेन्स क्लब च्याम्पियनसिपको फाइनलमा इस्ट बंगालले नेपाली क्लब एपीएफविरुद्ध एकपक्षीय नतिजा निकाल्यो
What you should know
काठमाडौँ — साफ वुमेन्स क्लब च्याम्पियनसिप फुटबलले इस्ट बंगालका रूपमा शनिबार त्यस्तो विजेता पाएको छ, जसलाई ‘साँच्चैको च्याम्पियन’ भन्न सकिनेछ । पूरा प्रतियोगितामा इस्ट बंगाल अपराजित रह्यो ।
त्यतिमात्र होइन, ५ खेलमा भारतीय टोलीले एकै गोल पनि खाएन । फाइनलमा पनि एपीएफ क्लबमाथि इस्ट बंगालको जित एकोहोरो जस्तै रह्यो । प्रतियोगिताका लागि नेपाल झरेयता प्रशिक्षक एन्थोनी सामसनले भनेका थिए, ‘इस्ट बंगाल काठमाडौं घुम्नमात्र आएको होइन, जित्नकै लागि आएको हो ।’
भारतीय च्याम्पियन रहेको इस्ट बंगालले इमान्दारीपूर्वक त्यो वचन कायम राख्यो । यो वर्ष इस्ट बंगालले जितेको यो तेस्रो प्रतियोगिता हो । यो नै विशेष किन पनि रह्यो भने टोलीले जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसैले प्रशिक्षक सामसनले भने, ‘इस्ट बंगाल मात्र होइन, पूरा भारतीय महिला फुटबलकै लागि पनि यो उपाधिको विशेष अर्थ रहनेछ । यो सफलताले धेरै किशोरीलाई फुटबलमा प्रवेश गर्न प्रेरित गर्नेछ । त्यसैले हामीलाई अहिलेको यात्रामा खुसी र गर्व रहनेछ ।’
एपीएफका लागि फाइनल मात्र होइन, पूरा प्रतियोगिता नै निराश रह्यो । विशेषतः एपीएफको आक्रमण कमजोर बन्यो । एपीएफ प्रशिक्षक जीवेश पाण्डेले भने, ‘हामी कोही पनि प्रतियोगिताको प्रदर्शनमा सन्तुष्ट छैनौं । फाइनलमा हामीले सोचेजस्तो प्रदर्शन गर्न सकेनौं । हाम्रो लगभग सबै ठाउँमा कमजोरी देखियो । यसमा एकै जनाको मात्र भुल भयो भन्नु गलत हुन्छ । तर हाम्रा लागि प्रतियोगिता राम्रो अनुभव भने रह्यो । खेलाडीले राम्रो एक्सपोजर पनि पाए । अबका प्रतियोगिताका लागि टिम कसरी निर्माण गर्नुपर्छ भन्नेबारे हामीले राम्रो अनुभव बटुल्यौं ।’
फजिला निर्णायक
प्रतियोगितामा इस्ट बंगालले तय गरेको सुमधुर यात्रामा युगान्डाली खेलाडी फजिला इक्वापुट निर्णायक साबित भइन् । उनी नै प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन् र यसमा कसैको पनि दुईमत हुनेछैन । युरोपको वुमेन्स च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध काजकिस्तानको स्यामकेन्टका लागि गोल गरेको अनुभव भएकी इक्वापुटले बल र गतिमाथिको आफ्नो आकर्षक नियन्त्रणलाई प्रस्तुत गरिन् । उनकै नेतृत्वमा इस्ट बंगाल मैदानमा उत्रेको थियो । त्यस अर्थमा उनी प्रतियोगितामा पूरा छाइन् ।
फाइनलमा पनि उनले दुई गोल गरिन् । त्यसमध्ये पहिलो गोल २२ औं मिनेटमा सम्भव भयो । उनको प्रहार एपीएफकी गीता रानाको खुट्टाबाट ‘डिफेक्ट’ हुँदै गोलमा परिणत भएको थियो । त्यतिबेला गीता र गोलरक्षक अञ्जना रानामगरबीच स्पष्ट तालमेल अभाव देखिएको थियो । गोललगत्तै दुवै एकअर्कोलाई मैदानमै दोष दिइरहेका पनि देखिए । सिल्की देवीले ३५ औं मिनेटमा हेडबाट दोस्रो गोल थपिन् । त्यो स्थितिमा उनी एपीएफको पेनाल्टी एरियामा पूर्णतः ‘अनमार्क’ थिइन् र ‘फ्री हेडर’ को अवसर पाइन् ।
इक्वापुटले ४६ औं मिनेटमा दोस्रो गोल थपिन् । दोस्रो हाफ सुरु हुनेबित्तिकै सम्भव यस गोलमा एपीएफकी गोलरक्षक अञ्जनासामु बचाउनको पूरा सम्भावना थियो, तर बल उनको नियन्त्रणबाट फुत्किएर गोलमा परिणत भएको थियो । अन्यथा इक्वापुटको त्यस प्रहारमा खासै गति थिएन । प्रतियोगितामा यो उनको नवौं व्यक्तिगत गोल रह्यो । उनी सर्वाधिक गोलकर्ता पनि रहिन् । ‘फाइनलका तीनै गोल हाम्रै भुलले सम्भव भएको हो । यो हारको जिम्मेवारी हामी सबैले लिनुपर्छ,’ प्रशिक्षक पाण्डेले थपे ।
एपीएफमा सुधार आवश्यक
घरेलु फुटबलमा जस्तै राम्रो प्रदर्शन गरे पनि अन्तर्राष्ट्रिय मञ्चमा एपीएफको खराब प्रदर्शन कायम रह्यो । अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगितामा एपीएफका लागि फाइनल दसौं खेल थियो । त्यसमध्ये एपीएफ दुई खेलमा मात्र विजयी छ । यी दुवै खेल पनि अहिलेको प्रतियोगितामै कमजोर प्रतिद्वन्द्वीविरुद्ध मात्र प्राप्त भएको थियो । यस्तोमा प्रशिक्षक पाण्डेले माने, ‘एपीएफ टिममै सुधार आवश्यक छ ।’ उनको भनाइ थियो, ‘अबको टिममा एपीएफलाई घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो बनाउन थप नयाँ योजना आवश्यक पर्नेछ ।’
उनका समकक्षी प्रशिक्षक सामसनले भने इस्ट बंगाल यो प्रतियोगिता जित्नका लागि केही नभए पनि ६ महिनादेखि तयारीमा रहेको बताएका छन् ।
उनले भने, ‘यो सफलता हाम्रो कडा मिहिनेतले नै सम्भव भएको हो । त्यसैले हामी स्वाभाविक रूपमा खुसी नै छौं । यो वर्ष तीन उपाधि जित्न हामीले धेरै संघर्ष गरेका छौं । यो सजिलो काम थिएन अनि यसमा सबैको उत्तिकै योगदान छ, खेलाडी र प्रशिक्षकदेखि टिमसँग जोडिएका सबै । नेपाल आउनु अगाडि हामीले सबै प्रकारको गृहकार्य गरेर आएका थियौं । त्यसकै मीठो फल पाएका छौं ।’
