तृतको शतकमा आर्मीको पहिलो जित

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार आर्मीले भारतको दिल्ली वन्डर्सलाई ३७ रनले पराजित गर्‍यो ।

पुस ६, २०८२

राजु चौधरी

Army's first win in Trit's century

What you should know

चितवन — तृतराज दासको सानदार शतकमा त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ ।

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार आर्मीले भारतको दिल्ली वन्डर्सलाई ३७ रनले पराजित गर्‍यो । 

तृतको शतकमा आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय १८ रन बनायो ।  ओपनर ब्याटर तृतले ५१ बलमा अविजित रहँदै शतक पूरा गरेका थिए । कप्तान विनोद भण्डारीले ४४, इमरान शेखले ३६ र अर्जुन साउदले २१ रन बनाए । भीम सार्कीले अविजित ४ रन बनाए भने बसिर अहमद १ र नरेन साउद शून्यमै आउट भए । दिल्लीका दुश्यान्त राघभले ३ र कुशागरा शर्माले एक विकेट लिए । 

दिल्ली १९.४ ओभरमा १ सय ८१ रनमा अलआउट भयो । राघभले ५६, मोहम्मद कैफले ३४, कुशागरा शर्माले २९ रन बनाए । आर्मीका दुर्गेश गुप्ताले ३.४ ओभरमा २८ रन खर्चिंदै ४, शाहब आलमले २, बसिर अहमद र नरेन साउदले १–१ विकेट लिए । आर्मी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १ रनको हार बेहोरेको थियो । 

चितवनको लगातार दोस्रो जित 

घरेलु टोली चितवन क्रिकेट क्लबले लगातार दोस्रो जित दर्ता गर्‍यो । चितवनले पुलिसलाई ४ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको पुलिस दीपेश कँडेलको घातक बलिङ सामु निरीह बन्दै १७ ओभरमा ८५ रनमै अलआउट भयो । पुलिसका शंकर रानाले ३९ रन बनाउनुबाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । सुजन थपलियाले १४ र अशोक धामीले ९ रन बनाए । 

दीपेशले ४ ओभरमा १३ रन खर्चिंदै ४, नरेश प्रधानले ३, विपिन खत्री र दीपेश श्रेष्ठले १–१ विकेट लिए । ८ ओभर बाँकी रहँदै विजय लक्ष्य पूरा गर्‍यो । रोशन झाले १८ बलमा ४८ रन बनाए । गौतम केसीले १२ रन बनाए भने दीपेश कँडेलले ९ रनको योगदान दिए । पुलिसका अशोक धामी र सुजनले समान २ तथा श्रवण यादव र राशिद खानले १–१ विकेट लिए ।

चितवनले पहिलो खेलमा एपीएफ क्लबलाई पराजित गरेको थियो । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता पुस १३ गतेसम्म चल्नेछ । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully