एपीएफसामु दुर्लभ अवसर

देशले साफ च्याम्पियनसिप फाइनल पुगेर हार भोग्दै आएको पीडादायी इतिहासबीच एपीएफसामु घरमै उपाधि दिलाउने अवसर

पुस ५, २०८२

हिमेश

Rare opportunity before APF

What you should know

काठमाडौँ — जतिबेला साफ वुमेन्स च्याम्पियनसिप फुटबलको कुरा गर्छौं, एउटै तथ्य घुमाइफिराइ आइपुग्छ । यो हो, नेपालले कहिले पनि यो प्रतियोगिता जित्न सकेको छैन । भलै, नेपालले लगभग लगातार फाइनल खेलेको छ ।

यस्तोमा एपीएफ क्लबसामु शनिबार एउटा दुर्लभसँगै ऐतिहासिक अवसर हुनेछ, पहिलो संस्करणको साफ वुमेन्स क्लब च्याम्पिनयसिप जित्ने । टोलीले यो काम साँच्चै पूरा गर्छ भने त्यसले साफ च्याम्पिनयसिप फाइनलका सबै हारको पीडा केही हदसम्म भुलाउन सक्छ । 

तर, यो काम सजिलो भने हुने छैन, किनभने दशरथ रंगशालामा हुने फाइनलमा उसको प्रतिद्वन्द्वी छ, भारतीय टोली इस्ट बंगाल । यो त्यस्तो टिम हो, जसले लिग चरणमा आफूलाई अब्बल साबित गरेको छ । कुल ५ टिमसम्मिलित प्रतियोगितामा भारतीय च्याम्पियन इस्ट बंगाल ४ खेलबाट १० अंकसहित पहिलो स्थानमा रह्यो । एपीएफ भने ८ अंकसहित दोस्रोमा थियो । शीर्ष दुई स्थानमै रहेर दुवै टिमले फाइनल खेल्न लागेको हो । 

दुईबीचको लिग चरणको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । यो नतिजाले फाइनलमा भने खास अर्थ बोक्ने छैन । किनभने उपाधि भिडन्तमा प्रत्येक टिमको मानसिकता र सोच नै फरक हुने गर्छ । इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले एपीएफ निकै बलियो टिम भन्दै धेरैपल्ट प्रशंसा गरेका छन् । यो सम्भवतः उनको ‘माइन्ड गेम’ मात्रै हो । किनभने उनले सुरुमै भनेका छन्, इस्ट बंगाल काठमाडौंमा सहभागी हुनमात्र आएको होइन, उपाधि जित्नकै लागि हो । 

लिग चरणका खेलपछि सबैले ठ्याक्कै के पनि अनुभव गरेका छन् भने सम्भवतः इस्ट बंगाल एपीएफको तुलनामा केही हदसम्म राम्रो देखिएको छ । टोलीको खेल व्यावसायिक छ । अनि उसका युगान्डाली खेलाडी फजिला इक्वापुट उत्कृष्ट नै छन् । एपीएफलाई लिएर एउटै चिन्ता के हो भने उसले अहिलेसम्म आफ्नो स्वाभाविक लय भेट्टाउन सकेको छैन, त्यो भने धेरै हदसम्म गोलका लागि टिम संघर्षरत छ । यस्तोमा फाइनल अगाडिको मूल सार हो, एपीएफले फाइनलमा इस्ट बंगाललाई हराउने हो भने अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्नेछ । 

फाइनलको पूर्वसन्ध्यामा शुक्रबार आयोजित प्रेस मिटमा दुवै टिमका कप्तान र प्रशिक्षक भने उत्साही रहे । एपीएफकी कप्तान अनिता बस्नेतले आफ्नो टिम फाइनलका लागि सबै प्रकारले तयार रहेको बताएकी छन् । उनी भन्छिन्, ‘अहिले हामीले क्लबका लागि भन्दा पनि देशको प्रतिनिधित्व गरेर खेलिरहेका छौं । त्यसैले हामी सबै उत्साही छौं । देशले अहिलेसम्म केही जित्न नसकेको स्थितिमा जितको पदक दिलाउने प्रयास गर्नेछौं । हामी सबै त्यसकै प्रतीक्षामा छौं ।’

अनिताले यो प्रतियोगिताको ठूलो महत्त्व रहेको दाबी गर्दै आफ्ना खेलाडीलाई राम्रो खेल्न प्रेरित गर्ने एउटा कारण पनि बताइन् । उनको भनाइ थियो, ‘हाम्रा सबै बहिनीले मौका पाएका छन्, तिनले राम्रो खेल्नुपर्छ । उनीहरूप्रति अन्य क्लबको पनि नजर हुनेछ, यो स्वर्णिम अवसर हो ।’ 

प्रशिक्षक जीवेश पाण्डेले पनि उपाधि जित्नका लागि सक्दो सबै प्रयास हुने बताए । उनले भने, ‘इस्ट बंगाल राम्रो टिम रहेकोमा शंका छैन । उनीहरूलाई रोक्न हामीले आफ्नो खास कमजोरी के तथ्यमा रहेको छ, त्यसमै सुधारको प्रयास गरेका छौं ।’

अर्कोतर्फ इस्ट बंगालका प्रशिक्षक सासमन भन्छन्, ‘फाइनलमा हामीले धेरै दर्शक अपेक्षा गरेका छौं । खेल पनि माथिल्लो दर्जाको हुनेछ । हामी यो दुवैका लागि तयार छौं । हामीलाई राम्रोसँग के थाहा छ भने हामी किन नेपाल आएका हौं । हाम्रो हातमा जे छ, त्यसअनुसार राम्रो खेल्नेछौं ।’ कप्तान इक्वापुटले पनि भन्छिन्, ‘एपीएफ बलियो टिम हो, तर हामीलाई हाम्रा खेलाडीमा पूर्ण विश्वास छ ।’

हिमेश

Link copied successfully