आठ खेलाडीलाई लाखौंको ओलम्पिक छात्रवृत्ति

आठ भाग्यमानी खेलाडी हुन्- जुडोकी मनिता श्रेष्ठ प्रधान, टेनिसकी शिभाली गुरुङ, साइक्लिङकी उषा खनाल, टेबलटेनिसकी इभाना थापा, ब्याडमिन्टनका प्रिन्स दाहाल, स्पोर्ट क्लाम्बिइङका तेन्जिङ बेरटिन राई, पौडीका इर्भिन श्रेष्ठ र गल्फका सद्भाव आचार्य।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Eight athletes to receive Olympic scholarships worth millions

What you should know

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले त्यस्तो कार्यक्रम प्रस्तुत गरेको छ, जसले नेपाली खेलाडीलाई ओलम्पिकमा सहभागी हुने सपनाको उडान भर्न अझ बढी सहयोग गर्नेछ । कोही कसैले नेपालमा किन खेलकुदलाई आफ्नो भविष्य बनाउने प्रयास गर्नुपर्छ त ? यसको एउर्ट जवाफ त्यही कार्यक्रम हो र यसका लागि खेलाडीले आफ्नो खेलमा अब्बल भने साबित गर्नुपर्नेछ । एनओसीले ओलम्पिक एथलिट छात्रवृत्तिअन्तर्गत ८ खेलाडीलाई शुक्रबार अनुबन्ध गरेको छ । 

यसले ती खेलाडीलाई अमेरिकाको लस एन्जलसमा हुने अबको ओलम्पिक २०२८ मा सहभागी हुने बाटो खोल्न मदत गर्नेछ । यी आठ भाग्यमानी खेलाडी हुन् जुडोकी मनिता श्रेष्ठ प्रधान, टेनिसकी शिभाली गुरुङ, साइक्लिङकी उषा खनाल, टेबलटेनिसकी इभाना थापा, ब्याडमिन्टनका प्रिन्स दाहाल, स्पोर्ट क्लाम्बिइङका तेन्जिङ बेरटिन राई, पौडीका इर्भिन श्रेष्ठ र गल्फका सद्भाव आचार्य छन् ।

सन् २००४ को ओलम्पिकदेखि यस्तो छात्रवृत्ति प्रदान गर्ने क्रम सुरु भएको हो । यसअघि पनि ओलम्पिक छात्रवृत्तिमै रहेर जुडोकी मनिता श्रेष्ठले भने पेरिस ओलम्पिक पनि खेलेकी थिइन् ।

छात्रवृत्तिको यो क्रम ओलम्पिकको सातौं सस्करण आइपुग्दा भने यसले विस्तृत रूप लिएको छ । ओलम्पिक सोलिडारिटीअन्तर्गत छात्रवृत्तिअनुसार अब खेलाडीले प्रत्येक महिना १ हजार १ सय २५ डलर बराबरको रकम पाउने छन् । यो छात्रवृत्ति २४ महिनासम्म चल्नेछ । यस्तोमा प्रत्येक खेलाडीले सिधै आफ्नो खातामा यो अवधिमा लाखौं रुपैया पाउनेछन् । नेपाली खेलकुद इतिहासमै यस्तो छात्रवृत्ति आर्थिक रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो र कीर्तिमानी रहेको छ ।

आठ खेलाडीको छनोट एनओसीका राजीव श्रेष्ठ, टासी घले र सुजनलाल श्रेष्ठसम्मिलित समितिले गरेको हो । कमिटीका महासचिव पनि रहेका श्रेष्ठले यो कार्यक्रमले नेपाली खेलकुदमा तरंग नै ल्याउने दाबी गर्दै भने, ‘नेपाल ओलम्पिक कमिटी खेलाडीको भविष्यलाई लिएर जहिल्यै पनि सजग रहेको छ ।’ कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले छात्रवृत्ति कार्यक्रमले कोही पनि खेलाडीलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्ने बताए । 

अखिल नेपाल टेबलटेनिस संघको नेतृत्वमा पनि रहेका वैद्यले भने, ‘पछिल्लो ओलम्पिकमा पनि टेबलटेनिस खेलाडी छनोटबाट ओलम्पिकसम्म पुगेको छ । अब हाम्रो उद्देश्य त्यही रहनेछ । यो कार्यक्रमले नेपाली टेबलटेनिसलाई अझ उत्साही बनाएको छ ।’ 

कमिटीका कार्यालय सचिव रहेका श्रेष्ठका अनुसार खेलाडीले प्राप्त गरेको यो रकम व्यवस्थित प्रशिक्षणका लागि प्रयोग हुनेछ । उनका अनुसार खेलाडीलाई विदेशमा प्रशिक्षण लिन र ओलम्पिक छनोट हुन आवश्यक अंक जोड्न प्राप्त हुने प्रतियोगितामा भाग लिन प्रेरित गरिनेछ । 

कार्यक्रममा कमिटीले आफ्नै स्रोतले अबको एसियाली खेलकुदका लागि ५ खेलाडीलाई पनि छात्रवृत्ति प्रदान गरेको छ । अबको एसियाली खेलकुद सन् २०२६ मा जापानको आइची/नागोयामा हुनेछ । यस छात्रवृत्तिअन्तर्गत ती खेलाडीले प्रत्येक महिना ५० हजार रुपैयाँ पाउनेछन् र यो ९ महिना चल्नेछ । यो छात्रवृत्ति पाउनेमा करातेका एरिका गुरुङ र सानुमाया थिङ, बक्सिङका चन्द्रबहादुर थापा, आर्चरीका तिलक पुनमगर र उसुकी सुष्मिता तामाङ रहेका छन् । 

डाकारमा हुने युथ ओलम्पिकका लागि भने उसुकी रश्मि तामाङले पनि ५० हजार रुपैयाँको छात्रवृत्ति पाएकी छन् । यो १० महिनासम्म चल्नेछ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नो संस्था सरकार र निजी क्षेत्रसँग मिलेर नेपाली खेलकुदलाई अगाडि बढाउन तत्पर रहेको बताए । उनले भने, ‘अबका ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागितामै मात्र सीमित हुनुहुन्न, हाम्रो लक्ष्य परिमाणमुखी हुनुपर्छ । यसका लागि नै हामीले यस्तो कार्यक्रम ल्याएका छौं ।’

उनले थपे, ‘यस्तो कार्यक्रमले खेलाडीको भविष्य सुनिश्चित गर्न पनि ठूलो सहयोग गर्नेछ । हामी के पनि चाहन्छौं भने अहिलेको सरकारले हामीलाई न्याय गरोस् । हामीलाई विश्वास छ, अब नेपाली खेलकुदमा सुशासन सुरु हुनेछ । विधि र कानुनअनुसार कामहरू हुनेछन् । हामी खेलकुदको माध्यमबाट देशको गौरव र इज्जत बढाउने काम हुनेछ भन्ने पनि विश्वास गर्छौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully