समनपुर बोल्ट्सले दुर्गा भगवती वारियर्सलाई र देवीपुर रोयल्सले होटल एएन प्लाजालाई पराजित गरेका हुन् ।
What you should know
रौतहट — चन्द्रपुर प्रिमियर लिगको शुक्रबारको खेलमा समनपुर बोल्ट्सले दुर्गा भगवती वारियर्सलाई र देवीपुर रोयल्सले होटल एएन प्लाजालाई पराजित गरेका छन् ।
चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा सम्पन्न पहिलो खेलमा समनपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको थियो । दुर्गा भगवती वारियर्सले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो । टिमका डब्लु मलिकले ३६ बल खेलेर ५१ रन बनाए । अर्का खलाडी शैलेन्द्र साहले ३७ बल खेलेर ४७ रन बनाए । आरब रामले १० बलमा १० र विवेक रानामगरले १२ बलमा १० रन बनाए । समनपुर बोल्ट्सका संजय साह र सुमित श्रेष्ठले २/२ विकेट हात पारे । पप्पु यादव र फिरदोस अन्सारीले १/१ विकेट लिए ।
समनपुर बोल्ड्सले १८.४ ओभरमा ५ विकेट गुमाई १ सय ५५ रन बनाउँदै जित हासिल गर्यो । समनपुरका राकेश कामतले ३८ बलमा ५१ रनको योगदान गरे । अर्का खेलाडी सुमित श्रेष्ठले २७ बलमा ३९ रन बनाए । पप्पु यादवले ११ बलमा २२ र गौरव खड्काले २१ बलमा १३ रन बनाए । दुर्गा भगवतीका डब्बु मलिकले दुई विकेट हात पारे । रोशन साह, धर्मेन्द्र राउत र अरब रामले १/१ विकेट लिए ।
होटल एएन प्लाजा र देवीपुर रोयल्सबीच सम्पन्न दोस्रो खेलमा देवीपुर रोयल्स ४ रनले विजयी भयो । समय अभावमा १५ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङमा आएको एएन प्लाजाले ८ विकेट गुमाई १ सय २३ रन बनाएको थियो । टिमका अरबिन्द चौधरीले २१ बलमा ३२ रन बनाएका थिए । दिनेश अधिकारीले १२ बल खेलेर १२ रन बनाए । दीपेन्द्र रावतले ७ बलमा १२ रन बनाए । त्यस्तै शैलेन्द्र कुशवाहले ८ बलमा १२ रन बनाए । रुपेश सिंहले ७ बलमा १३ रन बनाए । अशु कन्दोईले ७ बलमा ११ रन बनाए । देवीपुरका सेराज हवारी, कमल गुप्ता र रैयन आलमले २/२ विकेट लिए । रियाज आलम र नटराज साहले १/१ विकेट लिए ।
१ सय २४ रनको विजयी लक्ष्य पाएको देवीपुरले १३.३ ओभरमा ६ विकेट गुमाइ १ सय १३ रन बनाउँदा प्रकाशका कारण खेल रोकियो । त्यसपछि डकवर्थ–लुइस नियमअनुसार देवीपुरलाई ४ रनले विजयी भएको घोषणा गरियो । देवीपुरका लागि अर्जुन घर्तीले १६ बलमा ४३ रन बनाए । रामचन्द्र धामीले २२ बलमा ३४ रन बनाए । इमरान शेखले १३ बलमा ११ रन बनाए । एएन प्लाजाका रुपेश सिंह र नितेश यादवले २/२ विकेट लिए । दिपेन्द्र रावत र धर्मेन्द्र साहले १/१ विकेट लिएका छन् ।
