दुबो रोपिएको स्थानमा खाल्डाखुल्डी परेको छ । पछिल्लो समय खेलाडीहरूलाई दैनिक अभ्यासमै असहज अवस्था सिर्जना भएको छ ।
What you should know
पाल्पा — तानसेनको टुँडिखेल मैदान मर्मत–सम्भारको अभावले जीर्ण बन्दै गएको छ । पाँच वर्ष लगाएर दुई वर्षअघि मात्र स्तरोन्नति गरिएको मैदान अहिले तानसेन नगरपालिकाको बेवास्ताका कारण बिग्रँदै गएको स्थानीयको गुनासो छ । दुबो रोपिएको स्थानमा खाल्डाखुल्डी परेको छ । पछिल्लो समय खेलाडीहरूलाई दैनिक अभ्यासमै असहज अवस्था सिर्जना भएको छ ।
‘मैदान स्तरोन्नति भयो भनेर हामी धेरै खुसी भएका थियौँ,’ पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीरजंग राणाले भने, ‘खाल्डाखुल्डी र दुबो मर्दै गएकाले खेलाडीलाई अभ्यास गर्नसमेत समस्या हुने अवस्था आएको छ ।’ सबै प्रकारका खेलकुद स्तरोन्नति गरिएको घाँसे मैदानमै गरिँदा बिग्रँदै गएको र त्यसले खेल अभ्यासमा थप समस्या सिर्जना गरेको उनले बताए ।
उनका अनुसार टुँडिखेल मैदान स्तरोन्नति भएपछि खेलप्रेमी र खेलाडी उत्साहित भएका थिए । स्तरोन्नतिको काम तीन वर्षमा सकिएको थियो । दुई वर्षअघि मात्र मैदान सम्याउने, दुबो लगाउने, फुटबल कोर्ट निर्माणलगायतका काम पूरा भएका थिए । स्तरोन्नतिपछि तानसेनको खेलकुद विकासमा केही आशा जगिएको भए पनि अहिले नगरपालिकाको बेवास्ताले मैदान अलपत्र परेको अध्यक्ष राणाको गुनासो छ । ‘करोडौँ रुपैयाँ खर्चेर खेलमैदान तयार गरियो,’ उनले भने, ‘तर नियमित मर्मत–सम्भार नहुँदा अहिले जीर्ण बन्दै गएको छ । तत्काल नगरपालिकाको ध्यान जानु आवश्यक छ ।’
तानसेनको गहनाका रूपमा परिचित टुँडिखेल स्तरोन्नति भएपछि खेलाडी उत्साहित हुनु स्वाभाविक थियो । यसअघि स्तरोन्नति नहुँदा खेलाडीले पाँच वर्षसम्म कुनै पनि खेल अभ्यास गर्न पाएका थिएनन् । टुँडिखेल सुधार योजनाअनुसार स्तरोन्नति सम्पन्न भएपछि पनि नगरपालिकाले मैदानलाई बेवास्ता गरेको खेलाडी अविन पुलामीको गुनासो छ ।
झन्डै चार करोड रुपैयाँ खर्चेर स्तरोन्नति गरिएको मैदान मर्मत–सम्भारको अभावले खाल्डैखाल्डा बनेको उनले बताए । दुबो मरेर धुलो उड्ने अवस्था आएको छ । अर्का खेलाडी कमल गाहाका अनुसार अभ्यास गर्न समस्या हुन थालेको छ । ‘नियमित अभ्यासका क्रममा लडेर चोटपटकसमेत लागेको छ,’ उनले भने, ‘नियमित मर्मत–सम्भारको व्यवस्था गरिदिए हुन्थ्यो ।’
धेरै जाडो र धेरै गर्मी नहुने तानसेनमा टुँडिखेल स्तरोन्नति भएपछि संघ, प्रदेश र जिल्लास्तरीय प्रतियोगिता निरन्तर हुने अपेक्षा गरिएको थियो । अभ्यासका लागि सहज भए पनि अहिले मर्मत–सम्भारमा ध्यान नदिइएको खेलाडी आयुश अधिकारीले बताए । ‘यहाँ विगतका वर्षमा मेला–महोत्सव सञ्चालन गरियो,’ उनले भने, ‘तर त्यसबाट उठेको रकम यही लगानीमा प्रयोग गरिएन, त्यसैले अवस्था झन् बिग्रँदै गयो ।’
टुँडिखेलमा नियमित अभ्यास गर्न आउने खेलाडीको संख्या दैनिक सयभन्दा बढी छ । तर अभ्यासका लागि छुट्टै मैदान स्तरोन्नति गरिएको छैन । यदि नियमित अभ्यासको स्थान फरक बनाइयो भने मात्र मुख्य फुटबल मैदान जोगिन सक्ने पाल्पा फुटबल एकेडेमीका प्रमुख प्रशिक्षक रितेश मल्लको सुझाव छ । ‘सबै प्रकारका खेलकुद मुख्य फुटबल मैदानमै गरिँदा छिट्टै ध्वस्त भएको हो,’ उनले भने, ‘यसतर्फ नगरपालिकाको बेलैमा ध्यान जानु जरुरी छ ।’
तानसेन नगरपालिकाले तीन करोड ८२ लाख ९४ हजार रुपैयाँ लागतमा मैदान स्तरोन्नति गरेको थियो । विकासे दुबो रोपिए पनि खेलाडीको दैनिक अभ्यासका कारण मर्ने र हरियाली नहुने समस्या देखिएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । मैदानको मर्मत–सम्भारका विषयमा नगरपालिका अन्योलमै देखिन्छ । ‘स्तरोन्नति गरियो तर सही रूपमा प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने, ‘निकै महँगो दुबो रोपिएको थियो, तर जोगाउन सकिएन ।’ उनका अनुसार विभिन्न खेलको अभ्यासका लागि छुट्टाछुट्टै स्थान बनाउने सोच नगरपालिकाको छ, तर आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन ।
मैदान तयार भएपछि पाल्पा गोल्डकप खुला फुटबल प्रतियोगिता सम्पन्न भएको थियो । त्यसपछि ठूला प्रतियोगिता आयोजना भएका छैनन् । टुँडिखेलमा फुटबल मैदानसँगै ज्येष्ठ नागरिकमैत्री स्थल र बालउद्यान पनि छन् । फुटबल मैदान स्तरोन्नतिसँगै बालबगैंचा, ज्येष्ठ नागरिक केन्द्र र विश्रामस्थल निर्माण गरिएको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए । गुरुयोजनाअनुसार टुँडिखेल वरपर विभिन्न किसिमका फूल रोपेर सुन्दरता बढाउने योजना रहे पनि केही काम अघि बढ्न सकेका छैनन् । टुँडिखेलमा फुटबल मैदान स्तरोन्नतिसँगै फुटपाथ ब्लक र मिनी स्टेजसमेत बनाइएको छ ।
२०५० सालअघिसम्म टुँडिखेलमा राष्ट्रियस्तरका फुटबल प्रतियोगिता हुने गर्थे । जिल्लास्तरीय वीरेन्द्र सिल्ड, राष्ट्रियस्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट तथा कराते प्रतियोगितासमेत आयोजना हुन्थे । २०५१ सालपछि भने विस्तारै खेलकुद प्रतियोगिता हुन छाडेको यहाँका पुराना खेलाडी बताउँछन् । तानसेनको प्रख्यात करुवा कप र मणिमुकुन्द कप फुटबल प्रतियोगिता सम्झनायोग्य रहेको उनीहरूको भनाइ छ ।
धरान, बुटवल, पोखरा, काठमाडौं, नेपालगन्जलगायत स्थानबाट खेलाडी तानसेनमा खेल्न आउँदा नगरमा विशेष रौनक छाउने गरेको स्मरण पुराना खेलाडी गर्छन् । भारतको सिक्किम, गोरखपुर र लखनउलगायत स्थानबाटसमेत खेलाडी आउँदा तानसेनको खेलकुद गतिविधि झन् जीवन्त बनेको थियो ।
