उद्घाटन खेलमा एनआई कलेज विजयी

टस जितेर ब्याटिङ रोजेको बाल एकताले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ३६ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रिएको नेसनल इन्फोटेकले ५ ओभर १ बलमा दुई विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टायो ।

पुस ३, २०८२

शंकर आचार्य

NI College wins in the inaugural match

पर्सा — पाँचौँ संस्करणको नेसनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेसनल इन्फोटेक कलेज विजयी भएको छ ।

यहाँस्थित टीबी साह रङ्गशालामा बिहीबारदेखि  सुरु भएको खेलमा आयोजक नेसनल इन्फोटेक कलेजले बाल एकता कलेज कलैयालाई ८ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको बाल एकताले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ३६ रन मात्र बनाउन सक्यो । उसका लागि निखिल तिवारी र अनिकेतप्रसाद सहनीले समान ११/११ रन जोडे ।

नेसनल इन्फोटेकका प्रथम गुप्ताले तीन, धीरेन्द्र पासवान, अभय यादव र नीरज पटेलले २/२ र मोहम्मद मेराजले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको नेसनल इन्फोटेकले ५ ओभर १ बलमा दुई विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टायो । 

नेसनल इन्फोटेकका लागि डब्लु मल्लिकले सर्वाधिक १७, सुशान्त सिंहले १२ रन बनाए । बाल एकताका करण सिंह तेलीले २ विकेट लिए । प्रतियोगितामा वीरगन्ज, कलैया र हेटौंडाका गरी १० कलेज सहभागी छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully