कटहरियाका खेलाडी पवन सर्राफले टिमका लागि ४६ बलमा १०३ रनको शतकीय पारी खेलेका थिए ।
What you should know
रौतहट — चन्द्रपुर मेयर कप लिग ट्वान्टी/२० प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत बिहीबारको उद्घाटन खेलमा अपन क्रिकेट टिम कटहरिया विजयी भएको छ । एएन प्लाजा क्रिकेट टिमलाई १ सय १९ रनले पराजित गर्दै कटहरिया विजयी भएको हो ।
चन्द्रपुर युवा क्लबले आयोजना गरेको चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा टस जितेर फिल्डिङ रोजेको प्लाजासामु कटहरियाले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रनको विशाल स्कोर खडा गरेको थियो ।
कटहरियाका खेलाडी पवन सर्राफले टिमका लागि ४६ बलमा १०३ रनको शतकीय पारी खेलेका थिए । उनी भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली एक्सबाट खेलेका थिए । अर्का खेलाडी अरनिको यादवले ४४ बलमा ६४ रनको योगदान दिए । उनी एनपीएलमा जनकपुर बोल्ट्सबाट खेलेका थिए ।
कटहरियाका अनिलकुमार साहले ८ रन जोडे । उनी एनपीएलमा जनकपुर बोल्ट्सको कप्तान र पछि खेलाडीका रूपमा सहभागी भएका थिए । एनपीएल खेलेका आदिल अन्सारी नटआउट रहे । एनपीएल खेलेका अर्का खेलाडी शुभ कंसाकारले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एएन प्लाजाका बलर भुलवन सनीले दुई विकेट लिए । दिनेश अधिकारी र दीपेन्द्र रावतले एक/एक विकेट बाँडे ।
२ सय १७ रनको विजयी लक्ष्य पछ्याएको एएन प्लाजा १३.३ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै खुम्चियो । एएनका लागि रवि साहले ४२ बल खेलेर सर्वाधिक ३३ रन बनाए । त्यस्तै अरबिन्द चौधरीले १४ बल खेलेर २३ रन बनाए । दीपेन्द्र रावतले १० रन बनाए । । रावत एनपीएलमा कर्णाली एक्सबाट खेलेका थिए । एनपीएल खेलेका अर्का खेलाडी दिनेश अधिकारी र रूपेश सिंह शून्यमा आउट भए ।
अपन कटहरिया टिमका बलर नरेश साह र पवन सर्राफले दुई/दुई विकेट हात पारे । रोहित ठाकुर, अरनिको यादव, आदिल अन्सारी र अनिल साहले एक/एक विकेट लिए । प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले उद्घाटन गरेका थिए ।
