साफ वुमेन्स क्लब च्याम्पियनसिपको फाइनल इस्ट बंगाल र एपीएफबीच हुने निश्चित भइसकेकाले बुधबारको खेलमा दुवैले हार्न चाहेनन्
What you should know
काठमाडौँ — सम्भवतः यस्तो खेलको पटकथा यस्तै लेखिएको हुन्छ । इस्ट बंगाल र एपीएफ क्लब दुवै यसअघि नै फाइनल पुगिसकेका थिए, त्यसैले साफ वुमेन्स क्लब च्याम्पियनसिपको लिग खेलमा बुधबार दुवैले गोलरहित बराबरी खेलेका छन् । यो नतिजाले भारतको च्याम्पियन इस्ट बंगाल ४ खेलबाट १० अंकसहित अपराजित रहेर पाँच टिममध्ये शीर्षस्थानमा रह्यो ।
एपीएफ पनि अपराजित नै रह्यो । ८ अंक बटुलेको टोली दोस्रोमा रह्यो । दुवै टिमबीच एउटा समानता के पनि रह्यो भने दुवैले पूरा प्रतियोगितामा एउटै गोल खाएनन् ।
शीर्ष दुई स्थानमा रहने निश्चित भएपछि इस्ट बंगाल र एपीएफबीच नै फाइनल हुने निश्चित भइसकेको थियो । ‘आजको खेलमा दुवै टिममध्ये कोही पनि हारका लागि हकदार थिएन,’ इस्ट बंगालको प्रशिक्षक एन्थोनी सामसनले ठीकै भने, ‘यो खेल रोमाञ्चक रह्यो, हाम्रो टिमले राम्रो खेल नै प्रदर्शन गर्यो । एपीएफको प्रदर्शन पनि राम्रो थियो । फाइनल अगाडि हाम्रो टिममा केही सुधार भने आवश्यक छ । हाम्रो टिमको पूरा परीक्षा भने भएन, यो मूल परीक्षा अगाडिको तयारी मात्र हो ।’
उनले दुवै टिमका लागि एक–एक अंक सबैभन्दा उपयुक्त नतिजा रहेको स्वीकारे । प्रशिक्षक सामसनले थपे, ‘हाम्रा लागि दशरथ रंगशाला जहिले पनि विशेष रहने गर्छ । घरेलु समर्थक अगाडि खेल्नुको रोमाञ्च बेग्लै छ । हामी जहिल्यै पनि यो मैदानमा राम्रो खेल्न चाहन्छौं । मलाई लाग्छ, हाम्रा खेलाडीले आफूले सक्दो नै खेलेका हुन् ।’
दशरथ रंगशालामा भएको खेलमा इस्ट बंगालले सुरुआत राम्रो रह्यो र खेलमाथि उसको दबदबा देखिएको थियो । तर टोलीले त्यसको फाइदा भने लिन सकेन । खेल विस्तार अगाडि बढ्दै जाँदा एपीएफले खेलमा फर्किने प्रयास गरेको थियो । एपीएफका प्रशिक्षक जीवेश पाण्डेले सुरुदेखि सरु लिम्बू र रेनुका नगरकोटेलाई खेलाएका थिएनन्, उनीहरू दुवै दोस्रो हाफमा मात्र मैदानमा देखापरे । सम्भवतः खेलमा एपीएफ दोस्रो उत्कृष्ट टिम नै थियो । यसको प्रमुख कारण उनीहरूको कमजोर आक्रमण रह्यो । ‘हाम्रो मात्र होइन, अहिले नेपाली महिला राष्ट्रिय टिमको समस्या भन्नु नै गोल नहुनु हो,’ प्रशिक्षक पाण्डेले पनिस्वीकारे, ‘फाइनल अगाडि दुई दिन बाँकी छ र हामी टिममा के सुधार आवश्यक छ, त्यसमै केन्द्रित हुनेछौं ।’
‘अभ्यासका क्रममा हामीले सबैभन्दा बढी ध्यान दिएको भनेको नै आक्रमण हो,’ उनले भने, ‘आज दोस्रो हाफमा हाम्रो प्रदर्शनमा भने केही सुधार आएको थियो । पूरा खेलमै दुवै टिमका लागि कठिन रह्यो भन्दा हुन्छ । मलाई लाग्छ, हाम्रा खेलाडीको प्रदर्शन पनि राम्रै रह्यो, त्यसैले म उनीहरूलाई धन्यवाद दिन चाहन्छु ।’ उनले इस्ट बंगालको प्रशंसा गर्दै भारतीय च्याम्पियन आफैंमा राम्रो टिम रहेको माने । उनले अब आफ्नो टिमले फाइनलमा सक्दो बढी समर्थकको उपस्थितिमा खेल्ने अपेक्षा गरेको पनि बताए ।
यो खेलसँगै लिग चरण १० खेल सकिएको छ । बुधबार पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीले १–१ को बराबरी खेले । ट्रान्सपोर्टले पेमा छोदेन छिरिङको गोलमा ३८ औं मिनेटमा अग्रता लिएको थियो । नसरिनको तर्फबाट सौरभी प्रीतिले ८७ औं मिनेटमा बराबरी गोल फर्काइन् । ट्रान्सपोर्ट ३ अंकसहित तेस्रो स्थानमा रह्यो । त्यसपछि पाकिस्तानको कराँची सिटी एफसी र नसरिन समान २ अंकमा रहे । गोल अन्तरले नसरिन अन्तिम स्थानमा रह्यो ।
ट्रान्सपोर्टले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएता पनि त्यो सम्भव भएन । त्यसमा प्रशिक्षक येसी वाङचुकले निराशा पोखे । उनले भने, ‘हाम्रा लागि प्रतियोगिता त्यस्तो रहेन, जस्तो अपेक्षा गरेका थियौं । तर हामीले धेरै शिक्षा भने लिएका छौं ।’ बंगलादेशी टिम पुछारमा रहे पनि नसरिनका प्रशिक्षक मोनिर हुसेनले आफ्ना अधिकांश उमेर समूहका भएकाले उनीहरूको प्रदर्शनप्रति सन्तुष्टि पोखे । कराँचीको प्रदर्शन पनि निराशाजनक नै रह्यो । टोलीले कुनै गोल गर्न सकेन ।
