फाइनलअघि एपीएफको परीक्षा

इस्ट बंगाल र एपीएफ क्लब दुवै फाइनल पुगिसकेको छ । तर यी दुई क्लबबीच लिग चरणको अन्तिम खेल बुधबार दशरथ रंगशालामा हुँदै छ ।

पुस २, २०८२

हिमेश

APF exam before finals

What you should know

काठमाडौँ — इस्ट बंगाल र एपीएफ क्लब दुवै फाइनल पुगिसकेको छ । तर यी दुई क्लबबीच लिग चरणको अन्तिम खेल बुधबार दशरथ रंगशालामा हुँदै छ । यो हुनेछ, साफ वुमेन्स क्लब च्याम्पियनसिप फुटबल फाइनलको पूर्वाभ्यास ।

दिनको पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमी भिड्दै छन् । यो आफैंमा प्रतिष्ठाको खेल हुनेछ । यसले तेस्रो स्थानमा को बस्ने हो तय गर्नेछ । 

सबैको ध्यान भने भारत र नेपालको महिला लिगको च्याम्पियनबीचको खेलमा केन्द्रित हुनेछ । यही खेलको नतिजाले समूह कसले जित्ने हो, त्यो तय गर्नेछ । अहिलेका लागि तीन खेलबाट शतप्रतिशत नतिजा निकालेको इस्ट बंगाल नै ९ अंकसहित शीर्षमा छ । एपीएफ पनि अपराजित छ, तर एउटा बराबरी नतिजाका कारण ७ अंकमै सीमित भएर दोस्रो स्थानमा छ । दुवै टिमले एउटै गोल खाएका छैनन् । 

शीर्षस्थानमै रहेर लिग टुंग्याउन इस्ट बंगाललाई बराबरी नै पर्याप्त हुनेछ भने एपीएफका लागि जित आवश्यक पर्छ । तर नतिजा जस्तै भए पनि त्यसले फाइनल समीकरणमा भने कुनै फरक पार्ने छैन । कुल ५ टिमसम्मिलित प्रतियोगिताको शीर्ष दुईमा रहने इस्ट बंगाल र एपीएफ दुवैले आ–आफ्नो अन्तिम खेल अगाडि नै फाइनल प्रवेशको औपचारिकता पूरा गरेको थियो । 

एक प्रकारले यिनै दुई टिम फाइनल पुग्ने अपेक्षा थियो । भयो त्यस्तै । दुवैले तय गरेको बाटो भने फरक छ । जहाँ इस्ट बंगालको यात्रा अहिलेसम्म सुमधुर छ, त्यहीं एपीएफले ठ्याक्कै लय समात्न सकेको छैन । यसअघि नै फाइनल पुगिसकेको हुनाले दुवै टिमले अबको खेलमा कस्तो रणनीति लिने हो, त्यो हेर्नलायक हुनेछ । दुवै टिमसामु सबै खाले विकल्प खुला छ ।

दुवैसामु रहेको एउटा अवसर छ । त्यो हो, आफ्नो दोस्रो रोजाइका खेलाडीलाई मैदानमा उतार्ने । विशेषतः एपीएफका लागि यो अवसर हुनेछ, आफ्नो बेञ्च कस्तो छ भनेर जाँच्न । एपीएफ आफैं एक प्रकारले टिम पुनर्संरचनाबाट गुज्रिने पहिलो खुड्किलोमा रहेको स्थितिमा यो राम्रो विकल्प हुनसक्छ । तर होइन, फाइनल अगाडि ठीक लय समात्ने हो भने एपीएफले आफ्नो सबैभन्दा बलिया टिम उतार्ने नीति लिन सक्छ । 

भुटानी महिला लिगको पछिल्लो संस्करणमा दोस्रो स्थानमा रहेको ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेल्नु एपीएफका लागि निराशाजनक नतिजा नै हो । एपीएफले पछिल्लो खेलमा पाकिस्तानको कराँची सिटीलाई पराजित गरे पनि त्यसमा जित अन्तर थियो, १–० । नसरिनविरुद्ध पहिलो खेलमा प्राप्त ४–० जित पनि खासमा उपलब्धिको प्रदर्शन थिएन । यो तथ्य सम्भवतः प्रशिक्षक जीवेश पाण्डेले राम्रोसँग बुझेकै छन् । 

उनले सिधा–सिधा टिमको अहिलेसम्मको यात्राबारे प्रशंसा गरेका छैनन् । बरू कराँचीविरुद्ध प्राप्त जितमा ३ अंक नै ठूलो रहेको बताएका छन् । उनलाई के राम्रोसँग थाहा छ भने केही प्रमुख खेलाडीको अनुपस्थितिले समस्या भइरहेको छ । तर, त्यसको विकल्प अहिलेका लागि उपलब्ध छैन । के एपीएफले पनि अब विदेशी खेलाडीबारे सोच्नुपर्ने छ त ? यो अर्को प्रश्न भयो । 

अर्कोतर्फ इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसन आफ्नो टिमको लगातार तीन जितको प्रदर्शनमा खुसी देखिएका छन् । उनले यो लय कायम राख्ने इच्छा देखाएका छन् । उनले फाइनल अगाडि एपीएफको सामना गर्दा प्रतिद्वन्द्वीलाई सक्दो धक्का दिने प्रयास हुने बताएका छन् । यसको अर्थ इस्ट बंगालले उपलब्ध सबै आफ्ना प्रमुख खेलाडी नै मैदान उतार्ने छ । 

यस स्थितिमा सबैको ध्यान एक खेलाडीमा हुनेछ । उनी हुन्, युगान्डाका फरवार्ड फजिला इक्वापुट । उनले प्रतियोगितामा ७ गोल गरिसकेकी छन् । त्यसमध्ये नसरिनविरुद्धको खेलमा उनले एक्लै ५ गोल गरेकी थिइन् । उनको प्रदर्शनले भन्छ, उनी दक्षिण एसियाली महिला फुटबलवृत्तकी उत्कृष्ट खेलाडी हुन् । एपीएफले उनलाई रोक्ने उपाय ननिकालेर सुखै छैन ।

हिमेश

Link copied successfully