अहिले यो १५ औं संस्करणमा आइपुगेको छ । फेरि यो प्रतियोगिता नेपालमै आयोजना हुन गइरहेको छ । यही पुस ४ र ५ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रतियोगिताको १५ औं संस्करण हुँदै छ ।
What you should know
काठमाडौँ — इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) नेपालबाट सुरु भएको तेक्वान्दो प्रतियोगिता हो । सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दोको आयोजना भएको थियो ।
अहिले यो १५ औं संस्करणमा आइपुगेको छ । फेरि यो प्रतियोगिता नेपालमै आयोजना हुन गइरहेको छ । यही पुस ४ र ५ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रतियोगिताको १५ औं संस्करण हुँदै छ ।
त्यसको सम्पूर्ण तयारी पूरा भएको आईओएफटीसी नेपाल च्याप्टरले पत्रकार सम्मेलनमार्फत जनाएको छ । आईओएफटीसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकर महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा तय गरेको बताउँदै यसपल्ट अझ प्रतियोगिता भव्य रूपमा आयोजना गरिने बताए । उनले भने, ‘आईओएफटीसीले आफ्नो उद्देश्यअनुरुप तेक्वान्दोमार्फत् खेलभावना, मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन गर्दै आएको छ, फेरि आफ्नै भूमिमा प्रतियोगिता आयोजना गर्न आइपुगेका छौं ।’
अमेरिकाको पोर्टल्यान्डस्थित आईओएफटीसीले प्रत्येक दुई वर्षमा यो तेक्वान्दो च्याम्पियनसिप गर्दै आइरहेको छ । पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिकाबाहिर गर्ने गर्दछ । त्यसअनुसार पोर्टल्यान्डमा ५ संस्करण, नेपालमा ४ संस्करण, भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करणको आयोजना भएको आईओएफटीसीले जनाएको छ ।
आईओएफटिसी नेपालका अध्यक्ष मीनप्रसाद खनालले १५ औं संस्करण आयोजना गर्ने जिम्मेवारी नेपाललाई पुनः दिइएकोमा आईओएफटीसी हेडक्वार्टरप्रति आभार व्यक्त गरे । महासचिव गिरिबहादुर सुनारले १५ औं संस्करण अझ भव्य बनाउने लक्ष्यअनुरुप अन्तिम दिन सांस्कृतिक महोत्सव पनि गरिने बताए । नेपालको समृद्ध सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीभावको सन्देश प्रवाह हुने उनको भनाइ छ ।
प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले च्याम्पियनसिपमा आयोजक नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स, बंगलादेशलगायतका राष्ट्रका खेलाडीले भाग लिने बताए । उनका अनुसार प्रतियोगितामा खेलाडी, प्रशिक्षक र रेफ्री गरी करिब एक हजारको सहभागिता रहनेछ ।
वर्ल्ड तेक्वान्दोको नियमअनुसार हुने च्याम्पियनसिपमा ग्योरोगी (फाइट) र पुम्से (फर्म) विधामा प्रतिस्पर्धा हुनेछ । सिनियर पुरुष र महिलाको ८–८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ महिला र पुरुष गरी १०–१० तौल समूह र क्याडेटतर्फ गर्ल्स र ब्वाइजमा १०–१० तौल समूहमा खेलाइने छ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट समावेश गरिएको छ ।
च्याम्पियनसिपमा ६५ स्वर्ण, ६५ रजत र १३० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । विजेतासहित उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । कुल पुरस्कार राशि ७ लाख २५ हजार रुपैयाँ रहेको च्याम्पियनसिपको बजेट १ करोड ४ लाख रुपैयाँ रहेको निर्देशक महर्जनले बताए । नेपाली खेलाडीका लागि सन् २०२६ मा अस्ट्रेलियामा हुने १६ औं संस्करणका लागि छनोट प्रतियोगिता पनि हो । यसका विजेता खेलाडीले उक्त प्रतियोगितामा भाग लिने पाउनेछन् ।
च्याम्पियनसिपका लागि कुकिवानका प्रशिक्षक मीन हाक सिओले नेपाल आउनेछन् । पहिलो दिन पुम्से सेमिनार पनि हुनेछ । उक्त सेमिनार प्रशिक्षक सिओले सञ्चालन गर्नेछन् । पुरुष र महिलातर्फ उत्कृष्ट हुने खेलाडी, रेफ्रीमा उत्कृष्ट, प्रशिक्षकमा उत्कृष्ट हुनेलाई जनही ५० हजारबाट पुरस्कृत गरिने जनाइएको छ ।
