१ हजार २ सय ८० मिटर उचाइमा रहेको इलाम सदरमुकाम इलामबजारदेखि ३ हजार ६ सय ३६ मिटर उचाइमा अवस्थित सन्दकपुर डाँडासम्मको दुरीमा भएको प्रतियोगिताका विजेता उनीहरूले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
What you should know
पाँचथर — लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षणार्थ सन्देश दिने उद्देश्यले इलाममा आयोजित ४४.२ किलोमिटर दुरीको रेडपाण्डा म्याराथनको खुला पुरुषतर्फ आर्मीका गजेन्द्र राई र महिलातर्फ खोटाङकी धाविका निर्मला राई विजेता भएका छन् ।
१ हजार २ सय ८० मिटर उचाइमा रहेको इलाम सदरमुकाम इलामबजारदेखि ३ हजार ६ सय ३६ मिटर उचाइमा अवस्थित सन्दकपुर डाँडासम्मको दुरीमा भएको प्रतियोगिताका विजेता उनीहरूले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
गजेन्द्रले निर्धारित दुरी ४ घण्टा १२ मिनेटमा पूरा गरेका थिए । धावक करण रावलले ४ घण्टा १३ मिनेटमा दुरी पार गरेर दोस्रो स्थान हासिल गरे । अर्का धावक कर्णवीर रोक्का ४ घण्टा १९ मिनेटमा दूरी पार गरेर तेस्रो भए । उनीहरू सबै त्रिभुवन आर्मीका खेलाडी हुन् ।
महिला विजेता निर्मलाले ५ घण्टा ४० मिनेट ३६ सेकेन्डमा दुरी पार गरिन् । आर्मीकी सुनसरी रोकायाले ५ घण्टा ४० मिनेट ३९ सेकेन्डबाट दोस्रो स्थान सुरक्षित गर्दा अर्की धाविका कल्पना बुढाले ५ घण्टा ४० मिनेट ५७ सेकेन्डबाट तेस्रो भइन् । आर्मीकी राज्यलक्ष्मी शाक्यले ५ घण्टा ४४ मिनेट २७ सेकेन्डबाट चौथो स्थानको पुरस्कार प्राप्त गरिन् ।
दुवै विधामा दोस्रोले एक लाख, तेस्रोले ५० हजार र चौथो हुनेले २० हजार पुरस्कार पाएका छन् ।
रेडपाण्डा संरक्षणको क्षेत्रमा रेडपाण्डा नेटवर्कसँग सहकार्य गरेर काम गर्दै आएको दीपज्योति युवा क्लबले म्याराथन आयोजना गरेको हो । रेडपाण्डा संरक्षित क्षेत्र इलाम, पाँचथर र ताप्लेजुङका सहभागीलक्षित प्रतियोगिताको स्थानीयतर्फ आर्मीमा कार्यरत पाँचथरका राजन मेन्याङबो ४ घण्टा ३९ मिनेट १० सेकेन्डबाट विजेता भए । पाँचथरकै विशाल राई ४ घण्टा ४३ मिनेट १८ सेकेन्डबाट दोस्रो, इलामका गजेन्द्र लिम्बू ४ घण्टा ४९ मिनेट १८ सेकेन्डबाट तेस्रो र ताप्लेजुङका रमेश लिम्बू ५ घण्टा ३ मिनेट ५७ सेकेन्डबाट चौथो स्थानमा रहे ।
आयोजकले खुला पुरुषतर्फ ४ घण्टा ३० मिनेट र महिलातर्फ ६ घण्टा ३० मिनेटको समयसीमा निर्धारण गरेको थियो । पुरुषतर्फ ६२ र महिलातर्फ ११ गरी ७३ प्रतिस्पर्धी थिए ।
