समयमै लय समात्दै सिटी

सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आफूलाई गम्भीर ढंगले बलियो प्रत्याशी बनाएको छ ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

City catching up on time

What you should know

लन्डन (एएफपी) — अबको केही साता मोहम्मद सलाहको चर्चा कम हुनेछ । उनी कसैको नजरबाट पनि टाढा हुने छैनन् ।

अर्कोतर्फ म्यानचेस्टर सिटीले ठीक समयमा लय समातेको छ । सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आफूलाई गम्भीर ढंगले बलियो प्रत्याशी बनाएको छ । 

पेप ग्वार्डिओलाको सिटी शीर्षस्थानमा आर्सनलभन्दा २ अंकले मात्र पछाडि छ । सप्ताहन्तका खेलमा आर्सनल र सिटी दुवै विजयी रहे । तर दुवैको जितको प्रकृति भने फरक रह्यो । उनाइ एमरीको एस्टन भिल्ला तेस्रो स्थानमा छ, आर्सनल भन्दा ३ अंकले मात्र पछाडि छ । भिल्ला पछिल्ला ११ खेलमध्ये १० मा विजयी छ । 

यो साताका खेलमा चर्चाका विषय बनेको तीन मुख्य बुँदा यिनै रहे । 

अनिश्चित सलाह

लिभरपुलले ब्राइटनविरुद्ध प्राप्त गरेको २–० को जितमा मोहम्मद सलाहको मनस्थिति बुझ्नै गाह्रै रह्यो । उनी सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका थिए । गत साता मात्रै इजिप्टका ३३ वर्षीय फरवार्डले आफूलाई प्रिमियर लिग च्याम्पियन क्लबले बवास्ता गरेको आरोप लगाएका थिए । लिड्सविरुद्ध ३–३ को बराबरीमा उनी बेञ्चमै थिए । लगातार तीन खेलमा उनी सुरुआती टिममा छैनन् । 

मध्यसाता युरोपेली च्याम्पियन्स लिगमा इन्टर मिलानको सामना गर्दा निस्केको टिममा त झन उनको नामै थिएन । ब्राइटनविरुद्ध टिमको सूचीमा देखिनु भने अलिकति अचम्मकै कुरा रह्यो । खेलपछि प्रशिक्षक आर्ने स्लटले सलाहलाई लिएर सुल्झाउनुपर्ने कुनै विषय नै नरहेको बताए । त्यस जितमा ह्युगो एकिटिकेले गरेको दोस्रो गोलमा कर्नरबाट बल उपलब्ध गराउने सलाह नै थिए । 

सार्वजनिक रूपमा सलाहले आफूले लगाएको आरोपप्रति माफी पनि मागेका छैनन् । तय के छ भने प्रशिक्षक र खेलाडीबीचको मनमुटाव सकिएकै छैन । अहिलेका लागि उनी अफ्रिकी कप अफ नेसन्स खेल्न जाँदै छन् । लिभरपुलका पूर्व खेलाडी ड्यानी मर्फी पनि मान्छन् । स्थिति उस्तै छ । उनी के मान्छन् भने छोटो समयका लागि सुल्झिएको देखिए पनि समस्या त्यस्तै छ । उनी के भन्छन् भने आखिरमा सबैभन्दा ठूलो क्लब आफैं हो । 

भाग्यमानी आर्सनल

शीर्षमा रहेको आर्सनलले पुछारका उल्भसमाथि २–१ को त्यस्तो जित निकालेको छ, जसलाई भाग्यमानी भन्नपर्छ । आर्सनलको पक्षमा भएका दुवै गोल उल्भसको आत्मघाती थियो । त्यसो त खेलमा पूर्णतः आर्सलन हाबी रह्यो, तर मिखेल आर्टेटाको टिम आक्रमण सटिक रहन सकेन । पछि आर्टेटाले पनि भने, ‘हामीलाई थाहा थियो, यो खेल सजिलो हुने छैन । जसरी हामीले गोल खायौं, त्यस्तो प्रदर्शन सह्य छैन ।’ 

अझै पनि आर्सनल नै उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी देखिन्छ । सम्भवतः लिग उपाधिका लागि उसको दुई दशक लामो प्रतीक्षा सकिँदै छ । यति भन्दै गर्दा पनि आसर्नल उल्भसविरुद्धको त्यो खेलमा बराबरीमै रोकिएको भए त्यो गम्भीर दुर्घटना नै हुन सक्थ्यो । क्लबका पूर्व खेलाडी मार्टिन केवनले ठीक भने, खेलमा आसर्नल साँच्चै भाग्यमानी नै रहेको हो । यो जितले क्लबलाई ठूलै राहत दिएको छ । 

बलियो हुँदै सिटी

गत वर्षको एफए कपमा सिटी क्रिस्टल प्यालेसको हातबाट पराजित भएको थियो । यो ग्वार्डिओलाकै लागि भने स्तब्धपूर्ण नतिजा थियो । तर, यही सिटीले त्यही प्यालेसमाथि यसपल्ट सुदृढ ३–० को विजयी नतिजा निकालेको छ । यसले देखाउँछ, सिटी यसपल्ट लिग उपाधिका लागि गम्भीर छ । टोलीले गत सिजन लिभरपुलसँग पकड गुमाएको थियो । फिल फोडेनले एक गोलपछि इर्लिङ हालान्डले दुई गोल गरेका थिए । क्रिसमसको बेला सिटीको खास परीक्षा हुनेछ ।

कान्तिपुर

Link copied successfully