सोमबार पहिलो सेमिफाइनलमा न्यु होराइजनले लुम्बिनी शिक्षा निकेतनलाई ७ विकेटले पराजित गर्यो ।
What you should know
भैरहवा — स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेटको उपाधिकालागि न्यु होराइजन स्कुल र रूपन्देही लीलाराम न्यौपाने भिड्ने तय भएको छ । सोमबार पहिलो सेमिफाइनलमा न्यु होराइजनले लुम्बिनी शिक्षा निकेतनलाई ७ विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङमा आएको लुम्बिनी शिक्षा निकेतनले ४ विकेट गुमाएर १ सय १५ रन बनायो । उसकालागि अलिउद्दिन खानले ४६, जाभेद खानले ३४ र आसिफ खानले नटआउट १४ रन जोडे । बलिङमा न्यु होराइजनका प्रिन्स पाल, अनिश भट्टराई र रिजन बुढाथोकीले १–१ विकेट लिए ।
जवाफमा न्यु होराइजनले १४ ओभरमा ३ विकेट गुमाई १ सय १८ रन बनाएर जित निकाल्यो । उसको जितमा प्रिन्स पालले नटआउट ५५ रनको पारी खेले । यस्तै, अब्राहम अलीले अविजित २४ र सफल भट्टराईले १९ रन बनाए । बलिङमा लुम्बिनी शिक्षा निकेतनका बासुदेव यादवले २ र सफिउल्लाह खानले १ विकेट लिए ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा लीलारामले होराइजन जीबीएसलाई ८ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा ८० रन जोड्यो । उसकालागि प्रसन पोखरेलले २२ र सुनिल लोधले १० रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लीलारामका फैजन खान, प्रेमसागर यादव र विक्की मल्लाहले २–२ तथा कृष्णमोहन कुर्मीले १ विकेट लिए ।
प्रतिउत्तरमा लीलारामले १२ ओभर ५ बलमा २ विकेटको क्षतिमा ८१ रन बनाई सहजै जित दर्ज गर्यो । उसको जितमा लक्की यादवले अविजित ३६ र आयन खानले नटआउट २३ रनको योगदान गरे । बलिङमा होराइजन जीबीएसका शिवप्रसाद यादव र सहज अर्यालले १–१ विकेट लिए । मंगलबार उपाधिकालागि प्रतिस्पर्धा हुनेछ ।
