एनपीएलका लागि क्यानलाई आईसीसीको बधाई

शाहले पत्रमा प्रतियोगिताको आयोजना स्तर र मैदानमा देखिएको क्रिकेटले नयाँ उचाइ छोएको बताएका छन् ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष जय शाहले आइतबार पत्र लेख्दै नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजनका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई बधाई दिएको छ । 

शाहले पत्रमा प्रतियोगिताको आयोजना स्तर र मैदानमा देखिएको क्रिकेटले नयाँ उचाइ छोएको बताएका छन् । उनले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंको नेतृत्व र दृष्टिकोणले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रतियोगिताको सहज आयोजना, टिमको उत्साहवर्द्धक सहभागिता र पूरा देशमा प्रशंसकले देखाएको समर्थन कडा मिहिनेत र समर्पणकै कारण सम्भव भएको हो ।’

अध्यक्ष शाहले एनपीएलले नयाँ प्रतिभालाई अगाडि बढ्न मात्र सहयोग गरेको नभएर अन्तर्राष्ट्रिय क्रिकेटमै नेपालको उपस्थिति बलियो भएको पनि लेखेका छन् । प्रतियोगिताले नेपाली क्रिकेटलाई सही दिशातर्फ अग्रसर गराउन मद्दत गर्ने पनि उनले बताएका छन् । 

कान्तिपुर

Link copied successfully