इस्ट बंगाल र एपीएफको फरक बाटो

प्रतियोगिताको तेस्रो दिनको खेलपछि भारत र नेपालको च्याम्पियन उपाधिका लागि भिड्ने निश्चित भएको छ । 

मंसिर २९, २०८२

हिमेश

East Bengal and APF's different paths

What you should know

काठमाडौँ — सुरुमै तयजस्तै थियो, वुमेन्स साफ क्लब च्याम्पियनसिपको फाइनल खेल्ने भनेकै इस्ट बंगाल र एपीएफले हो । आखिरमा यस्तै भएको छ । आइतबार प्रतियोगिताको तेस्रो दिनको खेलपछि भारत र नेपालको च्याम्पियन उपाधिका लागि भिड्ने निश्चित भएको छ । 

त्यस अगाडि लिग चरणको अन्तिम खेलमा यिनै दुई टिम एकआपसमा भिड्ने छन् र यसको नतिजाले पनि पाँच टिममध्येको अगाडि रहने हो, त्यो निर्णय हुनेछ । अहिलेका लागि इस्ट बंगाल अगाडि छ, तीन खेलबाट नौ अंकसहित । दोस्रोमा एपीएफको सात अंक छ । बाँकी तीन टिमले अब उनीहरूलाई उछिन्न सक्ने छैनन् । 

यी नतिजासँगै कुल पाँच टिम सम्मिलित प्रतियोगितामा पाकिस्तानको कराँची सिटी एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र नसरिन स्पोर्ट्स एकेडेमीको चुनौती समाप्त भएको छ । फाइनल अगाडि एउटा प्रश्नको उत्तर भने बाँकी छ । अहिलेका लागि यी दुईमध्ये को राम्रो त ? यसको उत्तर बंगलादेशको नसरिनका प्रशिक्षक मोनिर हुसेनले दिएका हुन् र त्यो हो, इस्ट बंगाल ।

हुन पनि दुवै अपराजित छन्, दुवै टोलीले कुनै गोल पनि खर्चिएका छैनन् । तर इस्ट बंगालले तीन खेलमा जहाँ राम्रो मात्र खेलेको छैन, १३ गोल गरेको छ । त्यहीं एपीएफले पाँच गोल मात्र गरेको छ र उसको प्रदर्शनको खोट लगाउन मिल्ने ठाउँ धेरै छन् ।

आइतबारको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँचीलाई १–० ले हरायो । त्यसमा रश्मिकुमारी घिसिङले ५२ औं मिनेटमा एक मात्र गोल गरिन् । पूरा खेल अवधिमा एपीएफका खेलाडीबीच आवश्यक समन्वयको अभाव देखिएको थियो । निर्णायक आक्रमण बुन्न पनि एपीएफ चुकेकै देखियो ।

‘हामी यो खेलमा तीन अंकका लागि आएका थियौं, त्यसलाई हात पार्‍यौं,’ एपीएफका प्रशिक्षक जीवेश पाण्डेले भने । तर उनले आफ्नो टिमको प्रदर्शनमा गर्व गर्न सकेनन् । उनले पनि माने, नेपाली घरेलु फुटबलमा उपलब्धि राम्रा जति खेलाडीमध्ये अधिकांश एपीएफमै छन् तर प्रदर्शन त्यसैअनुसार हुन सकेको छैन । एपीएफका लागि एउटै खुसीको खबर के रहेको छ भने चोटग्रस्ट डिफेन्डर गीता राना मैदानमा फर्केकी छन् । उनी सब्स्टिच्युट खेलाडीका रूपमा ३८ औं मिनेटमा मैदानमा छिरेकी थिइन् ।

त्यसपछिको खेलमा भने इस्ट बंगालले नसरिनमाथि ७–० ले जित रच्यो । ‘जित भनेको जित नै हुन्छ, त्यसैले हामी खुसी छौं,’ खेलपछि इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले भने, ‘हामी चाहन्छौं, टिमको यो लय कायम रहोस् ।’ उसका लागि फजिला इक्वापुटले चार गोल गरिन् । उनले ७, २७, ४५, ७४ र ९० औं मिनेटमा गोल गरिन् । यस्तै ज्योति चौहानले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेट तथा सुलञ्जना राउलले ७३ औं मिनेटमा एक–एक गोल गरे ।

उनले थपे, ‘फाइनल अगाडि अब हामीले एपीएफको सामना गर्नेछौं । हामीलाई यो कस्तो टिम हो, त्यो राम्रोसँग थाहा छ किनभने उसका धेरै खेलाडीले भारतमा खेलिसकेका छन् । लिग चरणको अन्तिम खेलमा यही टिमको सामना गर्दा हाम्रा उद्देश्य तिनको कमजोरी थाहा पाउने हुनेछ ।’ अब बुधबार हुने खेलमा ट्रान्सपोर्ट र नसरिन तथा इस्ट बंगाल र एपीएफ खेल्नेछन् । फाइनल भने शनिबार हुनेछ । 

हिमेश

Link copied successfully