अघिल्लो वर्षको उपविजेता धरानले यस वर्ष तेस्रो संस्करणको उपविजेता न्यू स्टार फुटबल क्लब झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
What you should know
ताप्लेजुङ — सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजंगा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि मरिक फुटबल क्लब धरान सुनसरीले जितेको छ ।
अघिल्लो वर्षको उपविजेता धरानले यस वर्ष तेस्रो संस्करणको उपविजेता न्यू स्टार फुटबल क्लब झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधि जित्दै गर्दा धरानका लागि तीनै गोल विदेशी खेलाडीले गरे । दुई गोल नानाले गरे भने एक गोल फोफोनाले । संयोग यस्तो पनि बन्यो झापाको तर्फबाट सान्त्वना गोल गर्ने पनि बिदेशी खेलाडी नै थिए । फाइनल खेलमा सबै चार गोल बिदेशी खेलाडीका नाममा रह्यो ।
खेलको चौथो मिनेटमै सुशील राईको कर्नर प्रहारलाई हेडमार्फत पोस्टमा गोलको दिशा दिएका नानाले गोलको खाता खोलेका थिए । न्यू स्टारका अजय मार्टिनले ५० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काए । मार्टिनले डि बक्स छेउबाट उत्कृष्ट गोल गरेका थिए । आक्रामक लयमा उत्रिएको मरिकका लागि नानाले ५६ औं मिनेटमा दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाए भने निर्धारित समय सकिन अन्तिम मिनेट बाँकी रहँदा फोफोनाले तेस्रो गोल गरेर टिमको जित सुनिश्चित गरे । उपाधि जितको खेलको म्यान अफ द म्याच नाना भए र २५ सय पाए ।
धरानका फोफोना सर्वाधिक गोलकर्ता बन्दै ५ हजार पाए भने सुशील राई सर्वेत्कृष्ट खेलाडी बन्दै १० हजार रुपैयाँ पाए । गोल रक्षक धरानकै निशान मगर, मिडफिल्डर झापाका निकेश श्रेष्ठ भए र ५ हजार रुपैयाँका दरले पुरस्कार पाए ।
धरानले ३ लाख ३ सय २१ रुपैयाँका साथ सिरिजंगासिंह थेबेको प्रतिमा रहेको तीन वर्षे रनिङ ट्रफी प्राप्त गर्दा झापाले नगद १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
३ सय २१ औं सिरिजंगा सिंह थेबेको जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा भारतको एकसहित आठ टिमको सहभागीता रहेको थियो । विजेतालाई सिरिजंगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) लगायतले पदक तथा पुरस्कार वितरण गरेका थिए । खेल शान्तीपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
