साफ वुमेन्स क्लब च्याम्पियनसिप : इस्ट बंगाल र एपीएफ फाइनलमा

लिग चरणका दुई खेल बाँकी छँदै भारत र नेपालका लिग च्याम्पियन उपाधिका लागि भिड्ने भएका हुन् ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

SAFF Women's Club Championship: East Bengal and APF in the final

काठमाडौँ — साफ वुमेन्स क्लब च्याम्पियनसिप २०२५ को फाइनलमा भारतको इस्ट बंगाल र नेपालको एपीएफ भिड्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै भारत र नेपालका लिग च्याम्पियन उपाधिका लागि भिड्ने भएका हुन् ।

दशरथ रंगशालामा आइतबार भएको खेलमा इस्ट बंगालले बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० ले हरायो । यस्तै, एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले पराजित गरेको थियो ।

यी नतिजासँगै कुल पाँच टिम सम्मिलित प्रतियोगितामा नसरिन, कराँची र भुटानको ट्रान्सपोर्ट युनाइटेडको चुनौती समाप्त भएको छ । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिम फाइनल पुग्ने छन् ।

इस्ट बंगालको तीन खेलबाट नौ अंक भएको छ र शीर्ष स्थानमा छ । एपीएफको सात अंकमा दोस्रो स्थानमा रह्यो । यस्तै, कराँची दुई, ट्रान्सपोर्टको दुई तथा नसरिनको एक अंक रहेको छ ।

दिनको पहिलो खेलमा एपीएफका लागि रश्मिकुमारी घिसिङले ५२ औं मिनेटमा एक मात्र गोल गरिन् । दोस्रो खेलमा इस्ट बंगालका लागि फजिला इक्वापुटले चार गोल गरिन् । उनले ७, २७, ४५, ७४ र ९० औं मिनेटमा गोल गरिन् ।

यस्तै, ज्योति चौहानले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेट तथा सुलंजना राउलले ७३ औं मिनेटमा एक एक गोल गरे । अब बुधबार हुने खेलमा ट्रान्सपोर्ट र नसरिन तथा इस्ट बंगाल र एपीएफ खेल्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully