लुम्बिनीको छलाङ

गत वर्ष पुछारमा रहेको लुम्बिनी लायन्स शनिबार फाइनलमा सशक्त विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिई ६ विकेटले पराजित गर्न सफल भयो।

मंसिर २८, २०८२

विनोद पाण्डे

Lumbini's Leap

What you should know

काठमाडौँ — कागजमा कमजोर टोलीमा आँकिएको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । लुम्बिनीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिई ६ विकेटले पराजित गर्‍यो । 

कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल भयो । एनपीएल इतिहासमा पहिलो ब्याटिङ गरेको टोलीको यो सबैभन्दा कम स्कोर हो ।

दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमा ९ ओभरमै लक्ष्य पूरा गर्‍यो । लुम्बिनी पहिलो पटक प्लेअफ पुग्दै विजेता बनेको हो । सुदूरपश्चिम लगातार दोस्रो वर्ष फाइनलमा पराजित भयो । गत वर्ष टोली फाइनलमा जनकपुर बोल्ट्ससँग हारेको थियो । 

लुम्बिनीले लगातार ६ खेल जितेर ट्रफी उचालेको हो । लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ । यसपालि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरे पनि त्यसपछिका लगातार ३ खेलमा पराजित भएपछि प्लेअफ दौडबाट बाहिरिने स्थितिमा पुगेको लुम्बिनीले त्यसयता ६ खेल जितेको थियो । 

‘एउटा सपना पूरा भएजस्तो लागिरहेको छ, सुरुका ४ खेलमा हामी १ जित र ३ हारको स्थितिमा थियौं, त्यहाँबाट यहाँ पुग्नु भनेको एकदमै ठूलो सफलता हो जस्तो लाग्छ, एनपीएल जित्नु अझ ठूलो सफलता हो,’ रोहितले भने, ‘लुम्बिनी लायन्सका लागि पनि यो ठूलो सफलता हो । यो सबै टिमको प्रयासमा सम्भव भएको हो । हामीले सुदूरपश्चिम जस्तो टोलीलाई ८५ रनमा अलआउट गर्छौं भनेर सोचेका पनि थिएनौं । किनभने १४०–१५० रनमा उनीहरूलाई रोक्न सक्ने हौं भने मौका हुन्छ भनेर योजना बनाएका थियौं ।’

सुदूरपश्चिमले सिजन २ को सुरुआत लगातार ६ खेल जितेर गरेको थियो । तर सातौं खेलमा टोली विराटनगर किंग्ससँग पराजित हुन पुग्यो । त्यही विराटनगरलाई क्वालिफायर १ मा पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो । लुम्बिनीले लिग चरणको अन्तिम ३ खेल जितेर प्लेअफमा स्थान बनाएको हो ।

त्यसपछि टोलीले इलिमिनेटरमा काठमान्डु गोर्खाज र क्वालिफायर २ मा विराटनगरलाई हराएर फाइनल तय गरेको थियो । लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो । गत वर्ष पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको जित निकालेको थियो । गत वर्ष लुम्बिनी ७ खेलमा ६ पराजय भोग्दै पुछारमा थियो । 

एकतर्फी फाइनल

झिनो लक्ष्य पछ्याउने क्रममा दिनेशले पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । दिनेश र डी’आरसी शटले ४ ओभरमै ५८ रन जोडेर लुम्बिनीलाई तुफानी सुरुआत दिलाए । 

शट १३ बल खेल्दै १४ रनमा आउट भए । ३ चौका प्रहार गरेका उनलाई हेमन्त धामीले आउट गरे । हेमन्तले सोही ओभरमा दिनेशलाई पनि आउट गरे । दिनेशले १३ बलमै ४२ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । रोहित १२ बलमा १६ रन बनाई आउट भए । उनले २ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोरा स्कोर बराबरीमा भएको समयमा शून्यमा आउट भए पनि दिलीप नाथले विजयी रन प्रहार गरे । निरोशन डिकेवला १२ बलमा ११ रन बनाई अविजित रहे । 

रोहितको ह्याट्रिक विकेट

रोहितले ११ औं ओभरमा लगातार ३ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम ‘कोल्याप्स’ हुन पुग्यो । उनले दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनीत मेहरालाई आउट गरे । दीपेन्द्रले २० बलमा १३ रन बनाए भने दीपक र पुनीत पहिलो बलमै आउट भए । रोहितको सानदार बलिङ स्पेलपछि लुम्बिनीले खेल पूर्ण नियन्त्रणमा राख्यो । 

‘मेरो ह्याट्रिक विकेटले गर्दा उनीहरूले बढी दबाब अनुभव गरे जस्तो लाग्छ । त्यसपछि उनीहरूको मध्यक्रम पतन भएजस्तो लाग्यो । सपनामा पनि ह्याट्रिक हुन्छ भनेर सोच्न सक्दिनँ । तर आज मेरा लागि सबै कुरा भयो,’ रोहितले भने ।

एनपीएलमा यो केवल दोस्रो ह्याट्रिक विकेट हो । काठमान्डु गोर्खाजका शाहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा विनोद भण्डारी शून्यमा आउट भएदेखि नै सुदूरपश्चिमको विकेट झर्नेक्रम रोकिएन ।

विनोदलाई आउट गरेका लुम्बिनी अग्ला नामिबियन तीब्र गतिका बलर रुबेन ट्रम्पलमनले आफ्नो अर्को ओभरमा भारतीय खेलाडी शेल्डोन ज्याक्सनलाई १ रनमा एलबीडब्लू आउट गरे । आरिफ शेख पनि ६ रन बनाई शेर मल्लको पहिलो सिकार भए । त्यसपछि 

रोहितको ह्याट्रिक विकेट पूरा भयो । हरमित सिंह १ छक्का गर्दै १० रनमा शेरबाट आउट भए । ओपनर इशान पाण्डे आउट हुने आठौं खेलाडी थिए । १७ औं ओभरमा आउट भएका उनले ५१ बलमा १ चौका प्रहार गरी ३३ रनमा आउट भए । शेरले ३ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १७ पुर्‍याए । स्कट कुग्लेइन १० रनमा आउट भए । उनले ८ बल खेल्दै १ छक्का प्रहार गरेका थिए । 

अविनाश बोहराले १ रनमात्र जोड्न सके । हेमन्त धामी ९ बलमा १ छक्कामा ७ रनमा अविजित रहे । रोहित, शेर र ट्रम्पलमनले ३–३ विकेट लिए । रोहितले ४ ओभरमा १२, शेरले १८ रन खर्चे । प्लेयर अफ द फाइनल ट्रम्पलमनले २.१ ओभरमा ३ रनमात्र खर्चे । तिलकराज भण्डारीले १ विकेट लिए ।

रोहितलाई कार र मोटरसाइकल

रोहित प्रतियोगितामा नेपाली खेलाडीतर्फ उत्कृष्ट खेलाडी भए । त्यसबापत उनले ओमोडा एन्ड जेइको कार पाए । रोहितले १० खेलमा २ सय ७६ रन बनाउनुका साथै १० विकेट लिएका थिए । नेपाली खेलाडीतर्फ सर्वाधिक रन बनाएवापत उनलाई पल्सर मोटरसाइकल पनि प्रदान गरियो । 

‘आज मेरो दिन राम्रो थियो । प्रतियोगिताभर नै राम्रो भयो । गत वर्ष पनि व्यक्तिगत मेरो राम्रो नै थियो । तर एउटा टिमको हिसाबले हामीले राम्रो गर्न सकेका थिएनौं । यसपालि हामीले एकदमै राम्रो खेल्यौं, विशेष गरी रुबेन ट्रम्पलमनसहित विदेशी खेलाडीले पनि राम्रो खेले,’ रोहितले भने, ‘कार मेरो दिमागमा थिएन, टिमलाई ट्रफी कसरी जिताउने भन्नेमात्र थियो । मैले राम्रो खेल्दै गएपछि कार पनि आयो । मैले यो प्रतियोगितामा एउटा पनि अर्धशतक प्रहार गर्न सकिनँ, तर टिम जित्यो त्यसैले झन खुसी छु ।’ 

रोहितले कार पुरस्कार पाएपछि आफ्ना परिवारका सदस्यलाई कारभित्र राखेर घुमाए । उनले सुनाए, ‘आमाबुवा, दाइभाउजु, दिदी भिनाजु आज सबै जना खेल हेर्न आउनुभएको छ, त्यसैले यो मलाई भावनात्मक क्षण थियो । आमाबुवा आज गाडीमा हुनु पनि जरुरी थियो ।’

ट्रम्पलमन एनपीएलकै उत्कृष्ट

लुम्बिनीका तीव्र गतिका बलर रुबेन ट्रम्पलमन एनपीएलकै उत्कृष्ट खेलाडीमा चुनिँदै प्लेयर अफ द सिरिजमा चुनिए । उनले १० खेलमा १५ विकेट लिनुका साथै ५६ रन बनाएका थिए । उनलाई ५ लाख रुपैयाँको चेक प्रदान गरियो । उनी ३ विकेट लिँदै प्लेयर अफ द म्याच पनि चुनिए ट्रम्पलमनले प्लेअफका ३ खेलमा मात्र ७ विकेट लिए । 

शेरलाई इमर्जिङ अवार्ड

लुम्बिनीका अफ स्पिनर शेर मल्लले इमर्जिङ प्लेयरको अवार्ड पाए । उनलाई २ लाख र पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । फाइनलमा ३ विकेट लिँदै शेरले आफ्नो विकेट संख्या १७ पुर्‍याए । शेरले गत वर्ष पनि जनकपुर बोल्ट्सबाट एनपीएल उपाधि जितेका थिए ।

उनी दुवै एनपीएल जित्ने पहिलो खेलाडी हुन् । ‘त्यही भएर हामीले शेरलाई अक्सनबाट लिएका हौं,’ रोहितले भने, ‘लुम्बिनी लायन्सलाई जतिबेला विकेट चाहिन्थ्यो, त्यतिबेला शेरले आफ्नो प्रदर्शन दिएका छन् । निर्णायक क्षणमा उसले महत्त्वपूर्ण विकेट लिएको छ । उनी हाम्रो टोलीको महत्त्वपूर्ण खेलाडी हुन् ।’

शेर, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहराले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिए । अविनाशले अन्तिम क्षणमा रोहितलाई दीपेन्द्रको हातबाट उत्कृष्ट क्याच गराउँदै आफ्नो विकेट संख्या १७ पुर्‍याएका थिए । 

सन्दीपलाई सर्वाधिक विकेटका लागि पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । शेरको १३.७६, अविनाशको ११.४७ को तुलनामा सन्दीपको बलिङ औसत १०.४१ रहेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully