अंक तालिकाको पुछारमा रहेको उल्भ्सविरुद्ध आर्सनलका दुवै गोल आत्मघाती गोलका रूपमा प्राप्त भएका थिए।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनल शनिबार दुर्लभ स्थितिमा उल्भ्समाथि २–१ ले विजयी रहेको छ । अंक तालिकाको पुछारमा रहेको उल्भ्सविरुद्ध आर्सनलका दुवै गोल आत्मघाती गोलका रूपमा प्राप्त भएका थिए ।
दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा यरसन मोसक्वेराले आत्मघाती गोल गरेपछि आर्सनल तीन अंक प्राप्त गर्न सफल रह्यो । त्यस अगाडि ७० औं मिनेटमा साम जोनस्टोनले पनि आर्सनलकै पक्षमा आत्मघाती गोल गरेका थिए ।
त्यसबीच उल्भ्सका तर्फबाट टोलु आरोकोडारेले ९० औं मिनेटमा एक गोल फर्काए । यो जितपछि आर्सनल १६ खेलबाट ३६ अंकमा शीर्षमा रह्यो । उसको पछाडि म्यानचेस्टर सिटीको ३१ अंक छ ।
शनिबारका अन्य खेलमा फुलहमले बर्नलीलाई ३–२, लिभरपुलले ब्राइटनलाई २–० र चेल्सीले एभरटनलाई २–० ले पराजित गरेको थियो ।
