भियतनामको फान थिएटस्थित हार्डकोर्टमा आइतबार बिहान भएको पाँचौं प्लेअफमा अभिषेकले स्लोभाकियाका इभो क्लेकलाई ६–४, ७–६ (०) ले हराएका थिए ।
काठमाडौँ — नेपाली प्रो टेनिस खेलाडी अभिषेक बास्तोलाले युटीआर प्रो टेनिस टुरमा जितसहित भियतनाम यात्रा टुंग्याएका छन् । भियतनामको फान थिएटस्थित हार्डकोर्टमा आइतबार बिहान भएको पाँचौं प्लेअफमा अभिषेकले स्लोभाकियाका इभो क्लेकलाई ६–४, ७–६ (०) ले हराएका थिए ।
एटीपीका १८४ औं वरीयतासम्म पुगेका इभोले चार वटै ग्रान्ड स्लाम (अस्टेलियन, फ्रेन्च, विम्वल्डन र युएस ओपन) खेलिसकेका छन् । एटीपीको २ हजार वरीयताभन्दा तल रहेका अभिषेकले १ घन्टा ५६ मिनेटमा खेल जितेका थिए ।
अभिषेकले भियतनाम टुरमा दुई जित र चार ४ हारसहित यात्रा टुंग्याएका छन् । एउटा खेल उनले चोटका कारण खेल्न सकेनन् । समग्रमा १७ औं स्थान हासिल गरेका अभिषेकले अनुभवी खेलाडीहरूसँग खेल्न पाउँदा आफ्नो प्रदर्शनमा सुधार आइरहेकाले यात्रा सुखद रहेको सुनाए ।
गत महिना बेंगलुरुमा खेलेका अभिषेकले सहभागिता जनाएको युटीआरको १५ औं प्रतियोगिता हो ।
