धरान सिरिजङ्गा गोल्डकप : मरिक फाइनलमा

शनिबार भएको फाइनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै मरिक फाइनलमा पुगेको हो ।

मंसिर २७, २०८२

आनन्द गौतम

Dharan Srijanga Gold Cup: Marik in the final

ताप्लेजुङ — अन्तर्राष्ट्रिय सिरिजंगा गोल्डकप फुटबल प्रतियोगितामा धरानको मरिक एफसी फुटबल क्लब फाइनल प्रवेश गरेको छ । 

शनिबार भएको फाइनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै मरिक फाइनलमा पुगेको हो । तेल्लोकले खेल अवधिमा पहिलो खाता खोले पनि ट्राइब्रेकरमा दुईजनाले गोल गर्न सकेनन् । मरिकको तर्फबाट अशोक खवास, विदेशी खेलाडी फोफोना, सुशील राई र विनोद राईले लगातार गोल गरे । मरिक गत वर्षको उपविजेता पनि हो । 

आयोजकको तर्फबाट शिशिर राईको पहिलो पेनाल्टी अकासिँदै बाहिरियो भने दिपेश लिम्बूको प्रहार गोल गोलकिपरले रोकिदिए । सुनियोजित याक्सो र सविन राईले मात्रै गोल गरे । मरिक एफसीका सुशील राई शनिबारको म्यान अफ दी म्याच बने र २५ सय रुपैयाँ पाए । 

९० मिनेटको निर्धारित समयमा आयोजक तेल्लोकका दिपेश लिम्बूले दोस्रो हाफको ६० औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले सविन थापाको सहयोगमा उत्कृष्ट गोल गरे । तर, ७६ औं मिनेटमा मरिकका शिशिर लिम्बूको फ्रिकिकलाई उपयोग गर्दै फोफोनाले हेडमार्फत गोल गरेर खेललाई फर्काए । 

आइतबारको अन्तिम सेमिफाइनल म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम र न्यूस्टार क्लब बिर्तामोड झापाबीच हुने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । मंसिर २९ मा सकिने प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । खेलमा ८ टिमको सहभागिता रहेको थियो ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully