सेमिफाइनल समीकरण पूरा हुँदा साँगुरीगढी फुटबल क्लब धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनायो ।
ताप्लेजुङ — तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब ताप्लेजुङको तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंगा गोल्डकपको सेमीफाइनलमा पुगेको छ ।
शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा छिमेकी धनकुटाको साँगुरीगढी फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
सेमिफाइनल समीकरण पूरा हुँदा साँगुरीगढी फुटबल क्लब धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनायो । अब उसले फाइनल प्रवेशका लागि आइतबार न्यू स्टार फुटबल क्लब झापसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । साँगुरीगढीसँगको प्रतिस्पर्धामा म्याङलुङका लागि जीवन मास्कीले पहिलो,चौथो र पाँचौं गरेर ह्याट्रिक गरे । म्याङलुङका जीवन भण्डारी र मेक्सम दासले दोस्रो र तेस्रो गोल गरे । साँगुरीगढीका लागि प्रवेश बस्नेतले पहिलो र सिल्गाले दोस्रो गोल गरे ।
सेमिफाइनल समीकरण सकिँदै गर्दा सबैभन्दा बढी गोलको वर्षा भएको खेल पनि यही बन्यो । दुवै टिम विदेशी खेलाडीका साथ आएका थिए । साँगुरीगढी एन्ड्रयु र सिल्गा तथा म्याङलुङ फोडे फोफोना लिएर मैदान उत्रेको थियो । जीवन शुक्रबारको 'म्यान अफ द म्याच' बने र नगद २ हजार ५ सय रुपैयाँ हात पारे ।
शनिबारको पहिलो सेमिफाइनल खेल आयोजक तेल्लोक स्पोर्टिङ क्लब र मरिक फुटबल क्लब धरानबीच हुँदैछ । २९ गते सकिने प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउने छन् । जिल्लामा हुने दोस्रो ठूलो पुरस्कार राशिको प्रतियोगिता पनि हो यो ।
