विराटनगरलाई स्तब्ध पार्दै लुम्बिनी फाइनलमा

लिग चरणको अन्तिम तीन खेल जित्दै जसोतसो प्लेअफमा स्थान बनाएको लुम्बिनीले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।

मंसिर २६, २०८२

विनोद पाण्डे

Lumbini stuns Biratnagar to reach final

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफका पहिलो दुई खेलको दोस्रो इनिङ्समा ब्याटिङ गर्नु निकै कठिन भएको थियो । लुम्बिनी लायन्सले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्सविरुद्ध त्यसलाई प्रमाणित गर्दै आफूलाई फाइनलमा पुर्‍याएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कसिलो बलिङ गर्दै लुम्बिनीले विराटनगरलाई ४० रनले हरायो । लिग चरणको अन्तिम तीन खेल जित्दै जसोतसो प्लेअफमा स्थान बनाएको लुम्बिनीले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । 

लगातार पाँचौं खेल जित्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको थियो भने क्वालिफायर १ मा विराटनगर गत वर्षको उपविजेता सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो । त्यसअघि समूह चरणमा पनि लुम्बिनीले विराटनगरमाथि ५ विकेटको विजय पाएको थियो । 

टस जितेपछि ब्याटिङ निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो । तिलकराज भण्डारीले ३ विकेट लिएपछि जबाफमा विराटनगर १७.५ ओभरमा ९४ रनमै अलआउट भयो । विराटनगर लगातार दोस्रो खेलमा १ सयभन्दा कम रनमा अलआउट भएको हो । 

‘स्थिति हेरेर ब्याटिङ गर्नुपर्ने पिच थियो, तर हामीले जसरी ब्याटिङ गरेका थियौं, त्यसअनुरुप कुल स्कोरमा २०–२५ रन कम बनाएका थियौं,’ लुम्बिनीका अस्ट्रेलियन ब्याटर डी’आरसी शटले भने, ‘हामी लिग चरणमा सबै खेल जित्नुपर्ने स्थितिबाट आएका हौं, अब फाइनल पनि जित्छौं ।’

शट र कप्तान रोहित पौडेलले अर्धशतकीय साझेदारी गरे पनि लुम्बिनीले ठूलो स्कोर बनाउन सकेन । दिनेश अधिकारी दोस्रो ओभरमै १ रन बनाई आउट भएपछि उनीहरूले दोस्रो विकेटमा ५६ बलमा ६९ रनको साझेदारी गरे । रोहितले ३० बलमा समान २ चौका र छक्कासहित ३० रन बनाएर सुवास भण्डारीबाट बोल्ड भए । 

सानदार बलिङ गरेका सुवासको तेस्रो सिकार डी’आरसी भए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । उनी १४ औं ओभरमा आउट भए । सन्दीप जोरा र जेजे स्मिट शून्य तथा दिलीप नाथलाई १ रनमा आउट गरी विराटनगर खेलमा फर्किएको थियो । शेर मल्ल ७ बलमा ७ रन बनाई आउट भए । रुबेन ट्रम्पलमन ११ र अभिषेक गौतम २ रनमा अविजित रहे । 

विराटनगरबाट सुवास र प्रतिश जिसीले ३–३ विकेट लिए । सुरुको ३ विकेट लिएका सुवासले ४ ओभरमा १४ रनमात्र खर्चेर टोलीमा फर्किएको निर्णयलाई सही साबित गरे । प्रतिशले ४ ओभरमा २७ रन खर्चे । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

लेग ब्रेक बलर तिलकले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अभिषेक गौतम तथा नामिबियन जोडी ट्रम्पलमन र स्मिटले २–२ तथा शेरले १ विकेट लिए । अभिषेकले ४ ओभरमा २२, ट्रम्पलमनले ३ ओभरमा ९ र स्मिटले २.५ ओभरमा १५ रन खर्चेका थिए । 

ब्याटर भरिपूर्ण विराटनगरले ६ रन बनाउँदा नै महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो । ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिललाई २ र लोकेश बमलाई शून्यमा आउट गरे । अर्को ओभरमा शेरले फाफ डु प्लेसिसलाई ३ रनमा बोल्ड गरिदिए । शंकर राना ७ रनमै आउट भए ।

साम हेजलेटले विराटनगरबाट सर्वाधिक ३४ रन बनाए । उनले २८ बलमा २–२ चौका र छक्का प्रहार गरे । मर्च्येन्ट डी ल्याङ्गे १७, बसिर अहमद र कप्तान सन्दीप समान ३, प्रतिश जिसी २ रनमा आउट भए । नरेन भट्ट आउट हुने अन्तिम खेलाडी रहे । उनले २१ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए । 

विराटनगरका प्रशिक्षक धम्मिका प्रसादले टस जितेर ब्याटिङ गर्ने निर्णयमा पिचलाई राम्रोसँग बुझ्न नसकेको बताए । उनले भने, ‘एउटा टिमको हिसाबले हामीले राम्रो खेल्न सकेनौं । ब्याटिङका हिसाबमा हेर्ने हो भने हाम्रा ब्याटरले यसको जिम्मा लिनुपर्छ । यस्तो स्थितिमा कुनै क्षमा हुँदैन । यो लक्ष्य पछ्याउन सकिने स्कोर नै हो । पावर–प्लेमै ३ विकेट गुमाइसकेपछि स्थिति कठिन बन्दै गयो ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully