कुनै पनि देशको क्रिकेटलाई विकास गर्ने हो भने एकेडेमी अनिवार्य जस्तै हुन्छ : प्रशिक्षक चन्द्रपाल
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) मा डिफेन्डिङ च्याम्पियनका रूपमा जनकपुर बोल्ट्सको प्रदर्शन राम्रो रहेन । तर यसले जनकपुरलाई नेपाली क्रिकेटमा खुसी दिने एउटा सुखद कामको सुरुआतको घोषणा गर्न भने रोकेन । पहिलो सिजन विजेता जनकपुरले शुक्रबार क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेको छ । त्यसको नाम रहनेछ ‘जेबी क्रिकेट एकेडेमी’ ।
अझ त्यो पनि मधेश प्रदेशका आठै जिल्लामा । बोल्ट्सका बोर्ड अफ डाइरेक्टर उत्सव सिग्देलका अनुसार यी एकेडेमी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा रहनेछ । ‘त्यसमध्ये सुरुमा हामीले जनकपुर, बारा र सिरहामा एकेडेमी खोल्नेछौं । हामीलाई के विश्वास छ भने चौथो सिजनसम्म एनपीएलका लागि यसले खेलाडी उत्पादन गर्न सक्नेछ,’ उनले भने । एकेडेमीको प्रमुख उद्देश्य रहनेछ, ग्रासरुट स्तरमा केन्द्रित भएर भविष्यका स्टार खेलाडी जन्माउने ।
अझ बोल्ट्सको दाबी छ, एकेडेमीमा व्यावसायिक प्रशिक्षकसँगै आधुनिक प्रशिक्षण सुविधा हुनेछ नै, क्रिकेटमा आफ्नो भविष्य देख्नेलाई सही मार्गनिर्देशन पनि प्रदान गरिनेछ । बोल्ट्सले भनेको छ, ‘हामी चाहन्छौं, मधेश प्रदर्शनमा क्रिकेटको जग बलियो होस्, यसक्रममा नेपाली क्रिकेट भविष्यका लागि युवा प्रतिभालाई अगाडि बढाउन सकियोस् अनि उनीहरूको सपनाले दिशा र अवसर दुवै पाओस् ।’
घोषणा कार्यक्रमका प्रमुख आकर्षण फेरि एकपल्ट बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपाल रहे । अब उनी पनि त्यस एकेडेमीसँग जोडिने छन् । त्यसको अर्थ के भन्दा अबको सिजनमा पनि यिनै वेस्ट इन्डिजका लिजेन्ड बोल्ट्सका प्रशिक्षक हुनेछन् । चन्द्रपाउलले त्यस अवसरमा थपे, ‘कुनै पनि देशको क्रिकेटलाई विकास गर्ने हो भने एकेडेमी अनिवार्य जस्तै हुन्छ । यो नै क्रिकेटको विकास आधार हो ।’
सिजन–२ मा बोल्ट्सको प्रदर्शन किन खराब रह्यो त ? यसमा उनको कूटनीतिक जवाफ रह्यो । चन्द्रपालले भने, ‘हाम्रो प्रदर्शन खराब रहेको छैन, खाली नतिजाले मात्र सबथोक भन्दैन । हामी पराजित खेलमा हार अन्तर निकै कम रह्यो । ती खेलको नतिजा तलमाथि हुनसक्ने सम्भावना धेरै थियो ।’ उनले के विश्वास पोखे भने अबको सिजन बोल्ट्सको प्रदर्शन सुधारिएको हुनेछ ।
बोल्ट्सले आफूले घोषणा गरेजस्तै काम गर्ने हो भने एनपीएलसँग आबद्धमध्ये एकेडेमी खोल्ने पहिलो फ्रेन्चाइज टिम हुनेछ । पहिलो सिजनको फाइनलमा बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । तर यसपल्ट भने यही टिम प्लेअफ पनि पुग्न सकेन । प्रतियोगिताको लिग चरणको समाप्तिमा बोल्ट्स एकमात्र जित हात पार्दै दुई अंकमै सीमित रहेर सबैभन्दा पुछारमा रहेको थियो ।
