आईटीएफ जे ३० वर्ल्ड टेनिस टुर : शिभाली सेमिफाइनलमा

गर्ल्सतर्फ नेपाली खेलाडी शिभाली गुरुङबाहेक अन्य खेलाडी सेमिफाइनलमा स्थान बनाउन सकेनन् । शिभालीले डबल्सतर्फ उपाधि भिडन्त पक्का गरिसकेकी छन् ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

ITF J30 World Tennis Tour: Shivali in the semifinals

पोखरा — पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वर्ल्ड टेनिस टुर सर्किट–२ मा सेमिफाइनल समीकरण पूरा भएको छ ।

गर्ल्सतर्फ नेपाली खेलाडी शिभाली गुरुङबाहेक अन्य खेलाडी सेमिफाइनलमा स्थान बनाउन सकेनन् । शिभालीले डबल्सतर्फ उपाधि भिडन्त पक्का गरिसकेकी छन् ।

क्वाटरफाइनलमा शिभालीले पोखरेली टेनिस कोर्टमा आफ्नो लय कायम राख्दै अन्तिम चारको यात्रा तय गरेकी छन् । उनले भारतकी जान्हवी ताम्मिनिडीलाई ६–२, ६–१ को सोझो सेटमा हराइन् ।

भारतका खेलाडीद्वय कार्तिका पद्मकुमारले ध्रुती गुन्डुलाई ६–२, ६–१ ले र शक्तशिखा सहायकले नेपालकी स्वस्तिका विष्टलाई १–६, ७–५, ६–३ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । अर्को खेलमा ताइपेईकी के–चिये सूले नेपालकी सुनीरा थापालाई ६–०, ६–१ ले हराइन् ।

गर्ल्स डबल्समा शिभाली र ताइपेर्ईकी के–चिये सूको जोडीले क्यानडाकी नोरा चौधरी र भारतकी जान्हवी ताम्मिनिडीलाई ६–२, ६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उनीहरूले भारतकी तेजस्वी मानेनी र न्युजिल्यान्डकी बोइदेही उकिलको जोडीविरुद्ध खेल्नेछन् । तेजस्वीको जोडीले नेपालकी स्वस्तिका र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–४, ५–७, १०–५ ले हराएको थियो ।

ब्वाइज सिंगल्स टिङ–हो याङ (ताइपेई), चीनका जियालियाङ गुओ, दक्षिण कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो सेमिफाइनलमा पुगेका थिए । युलले नेपालका प्रणव मानन्धरलाई ६–२, ७–६ (४) ले र फर्नान्डोले करनबहादुर थापालाई ६–२, ६–२ ले हराएका थिए ।

कान्तिपुर

Link copied successfully