रामपुरका सात विद्यालयलाई फिफा बल वितरण

एन्फाको ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम अन्तर्गत बल वितरण गरिएको हो ।

मंसिर २६, २०८२

माधव अर्याल

FIFA balls distributed to seven schools in Rampur

What you should know

पाल्पा — अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा पाल्पा जिल्ला फुटबल संघले रामपुर नगरपालिकाका भित्रका सात विद्यालयलाई फिफा बल वितरण गरेको छ ।

एन्फाको ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम अन्तर्गत बल वितरण गरिएको हो ।

रामपुर नगपालिकाभित्र रहेका विद्यालयहरूमध्ये वडा ६ को दरैठाँटी मावि र नवदुर्गा मावि, वडा ७ को आधारभूत मावि, वडा ८ को गंगा मावि, वडा १० को भानुभक्त मावि, वडा ५ को भूपू सैनिक राईजिङ्ग अंग्रेजी मावि, रामपुर अंग्रेजी आवासीय माविलाई फिफा बल हस्तान्तरण गरिएको पाल्पा जिल्ला फुटबल संघका सदस्य अनिल शाही ठकुरीले बताए ।

फुटबललाई शिक्षा प्रणालीसँग जोड्ने पहल स्वरूप यो कार्यक्रमको सुरुवात गरिएको हो । फिफा फर स्कुल्स कार्यक्रम खेलकुद विकासको माध्यम मात्र नभई, भविष्यका कर्णधारहरूको शारीरिक, मानसिक र सामाजिक विकासका लागि गरिएको दीर्घकालीन लगानी भएको पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय बीरजंग राणाले बताए ।

पहिलो चरणमा पाल्पाका २६ विद्यालयमा १५ वटाका बलका दरले फिफा बल वितरण गरिएको छ । रामपुर नगरपालिका–७, किसानबारी खेल मैदानमा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष राणा लगायतले विद्यालयहरूलाई फुटबल वितरण गरेका हुन् ।

नगरप्रमुख थापाले खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्रलाई चिनाउने माध्यम भएको बताए । ‘नगर भित्रका खेल पूर्वाधार निर्माण संगै नयाँ खेल प्रतिभाको उजागरका लागि विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूलाई तालिम समेत सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘एन्फाको सहयोगले खेलकुदको उत्थानमा थप टेवा पुग्नेछ ।’ 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully