वर्ल्ड बक्सिङमा चन्द्रको पदक पक्का

कम्तीमा ७५ हजार अमेरिकी डलर पुरस्कार सुनिश्चित, अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यक्तिगत इभेन्टमा नेपाली खेलाडीले जित्ने यो ठूलो पुरस्कार राशि हो

मंसिर २५, २०८२

ध्रुव तुलाधर

Chandra's medal at World Boxing is assured

काठमाडौँ — नेपाली बक्सर चन्द्रबहादुर थापाले वर्ल्ड बक्सिङ च्याम्पियनसिपबाट ऐतिहासिक सफलता दिलाउने भएका छन् । युएईमा भइरहेको आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको आफ्नो तौल समूहमा चन्द्रबहादुर सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल पुगेसँगै उनी कम्तीमा कांस्यको हकदार भएका छन् । बक्सिङको वर्ल्ड च्याम्पियनसिपमा नेपालले जित्न लागेको यो पहिलो ऐतिहासिक पदक हुनेछ । 

५४ केजी तौल समूहका चन्द्रले इरानी बक्सर मेहदी काजेमीलाई युनानिमस डिसिजनका आधारमा ५ः० ले पराजित गर्दै अन्तर्राष्ट्रिय बक्सिङ एरिनामा नेपालको उपस्थितिलाई गर्विलो बनाएका थिए । यसअघि इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै उनले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । कांस्य पदक पक्कावापत उनले कम्तीमा ७५ हजार अमेरिकी डलर पुरस्कार सुनिश्चित गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगतिामा यो व्यक्तिगत इभेन्टमा नेपाली खेलाडीले जित्ने ठूलो पुरस्कार राशि पनि हो ।

उनी सेमिफाइनलमा काजकिस्तानका खेलाडीसँग भिड्ने छन् । जित पाएको खण्डमा फाइनल पुग्दै चन्द्र १ लाख ५० हजार अमेरिकी डलर पुरस्कारको हकदार बन्नेछन् । यो नेपाली बक्सिङ इतिहासकै ठूलो सफलतासँगै पुरस्कार राशि हुनेछ ।

मिसन २०२६ को क्याम्पमा रहेका चन्द्रबहादुरले घरेलु प्रतियोगिता नेपाल पुलिस क्लबबाट खेल्छन् । रोल्पाका उनले दाङको अल्फा बक्सिङ क्लबबाट २०७४ सालमा बक्सिङ करिअर सुरु गरेका थिए । सातौं र आठौं राष्ट्रिय खेलकुदमा तेस्रो भएका चन्द्रले नवौं राष्ट्रियमा स्वर्ण जितेका थिए । आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव रहेका उनको ठूलो सफलता वर्ल्ड च्याम्पियनसिप नै हो । 

क्वाटरफाइनल जितेपछि उनले कान्तिपुरसँग भने, ‘एकदमै उत्साही छु, ठूलो सपना पूरा भएको छ । वर्ल्ड च्याम्पियनसिपमा पदक जित्नु मेरा लागि एउटा सपना थियो ।’ उनले अब एसियन, ओलम्पिक गेम्समा पदक जित्ने लक्ष्य रहेको सुनाए । उनका प्रशिक्षक रहेका दीपक महर्जनले चन्द्रले आफ्नो पनि सपना पूरा गरिदिएको सुनाए । आईबीए थ्रीस्टार प्रशिक्षक महर्जनले भने, ‘खेलाडी रहँदा मेरो पनि वर्ल्ड च्याम्पियनसिपमा पदक जित्ने सपना थियो । त्यो पूरा हुन सकेन । एसियाडमा मात्र पदक जित्न सकें । अहिले मेरो खेलाडीले पूरा गरिदिएको छ । म पनि एकदमै खुसी छु । नेपाली बक्सिङले ठूलो उचाइ पाएको छ ।’

त्यस्तै ४८ केजी तौलका लालबहादुर उप्रेती भने क्वाटरफाइनलमा पराजित भएका छन् । प्रभावशाली प्रदर्शन गरेका उनी काजकिस्तानका तेमिरतास जुसुपोभासँग ५ः० ले पराजित भए । उनी इथियोपिया र माल्दोभाका बक्सरलाई हराएर क्वाटरफाइनल पुगेका थिए । उनले १० हजार डलर पुरस्कार पाएको प्रशिक्षक महर्जनले बताए । प्रतियोगितामा नेपालका ५ बक्सरले भाग लिएका थिए ।

ध्रुव तुलाधर तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully