आर्सनलको शतप्रतिशत प्रदर्शन कायम

पहिलो स्थानमा आर्सनललाई बायर्न म्युनिकमाथि तीन अंकको अग्रता प्राप्त छ । यससँगै शीर्ष आठमा रहेर सिधै अन्तिम १६ को खेल खेल्ने सम्भावना लगभग निश्चित जस्तै भएको छ ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Arsenal's 100% performance continues

काठमाडौँ — इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले बुधबार युरोपेली च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत प्रदर्शनलाई कायम राख्ने क्रममा क्लब ब्रुगमाथि प्रभावशाली ३–० को जित निकालेको छ । यस नतिजापछि आर्सनलको ६ खेलबाट १८ अंक भएको छ ।

पहिलो स्थानमा आर्सनललाई बायर्न म्युनिकमाथि तीन अंकको अग्रता प्राप्त छ । यससँगै शीर्ष आठमा रहेर सिधै अन्तिम १६ को खेल खेल्ने सम्भावना लगभग निश्चित जस्तै भएको छ ।

आर्सनलको जितमा नोनी माडुकेले दुई तथा ग्याब्रिएल मार्टिनेली एक गोल गरे । अर्को प्रमुख खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई २–१ ले हरायो । बर्नाबाउमा भएको खेलमा रियलले रोड्रिगोको गोलले अग्रता लिएको थियो । तर सिटीका तर्फबाट निको ओरेलीले बराबरी गोल गरे भने इर्लिङ हालान्डले पेनाल्टीबाट निर्णायक गोल गरे । हारले रियलमाथि चर्को दबाब सिर्जना भएको छ ।

यस्तै अन्य खेलमा आयाक्सले कोराबागलाई ४–२, कोपनहेगनले भिल्लारियललाई ३–२, बेनफिकाले नेपोलीलाई २–० र युभेन्ट्सले पाफोसलाई २–० ले हरायो ।

एथलेटिको बिलबाओ र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गोलरहित, बायर लेभरकुजन र न्युकासल युनाइटेडले २–२, बोरुसिया डर्टमुन्ड र बोडो/ग्लिम्टले २–२ को बराबरी खेले । पीएसजी १३ अंकमा तेस्रो स्थानमा छ । फ्रान्सेली क्लब विजयी रहेको भए दोस्रोमा उक्लने अवसर हुने थियो । 

कान्तिपुर

Link copied successfully