नेपालका चन्द्रबहादुर थापा युएईमा भइरहेको आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनल पुगेसँगै कम्तीमा कांस्यको हकदार भएका छन् । बक्सिङको वर्ल्ड च्याम्पियनसिपमा नेपालले जित्न लागेको यो पहिलो पदक हुनेछ ।
काठमाडौँ — नेपालका चन्द्रबहादुर थापा युएईमा भइरहेको आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन् ।
सेमिफाइनल पुगेसँगै कम्तीमा कांस्यको हकदार भएका छन् । बक्सिङको वर्ल्ड च्याम्पियनसिपमा नेपालले जित्न लागेको यो पहिलो पदक हुनेछ ।
ऐतिहासिक सफलतासामु पुग्ने क्रममा चन्द्रले ५४ केजी तौल समूहका इरानी बक्सर मेहदी काजेमीलाई युनानिमाउस डिसिजनका आधारमा ५ः० ले पराजित गर्दै अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा नेपालले उपस्थितिलाई गर्विलो बनाएका छन् ।
यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनल स्थान बनाएका थिए । कांस्य पदक पक्का गरेबापत उनले कम्तीमा ७५ हजार अमेरिकी डलर पुरस्कार रकम सुनिश्चित गरेका छन् ।
अब उनले सेमिफाइनलमा काजकिस्तानी खेलाडीसँग भिड्ने छन् । जित पाएको खण्डमा फाइनल पुग्दै चन्द्र१ लाख ५० हजार अमेरिकी डलर पुरस्कारको हकदार बन्नेछन् । यो नेपाली बक्सिङ इतिहासकै सबैभन्दा ठूलो पुरस्कार रकम हुनेछ ।
त्यस्तै, ४८ केजी तौलसमूहका लालबहादुर उप्रेती क्वाटरफाइनलमा पराजित भएका छन् । प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका काजकिस्तानका तेमिरतास जुसुपोभासँग ५ः० ले पराजित भएका थिए । उनले
उनले इथोपिया र माल्दोभाका बक्सरलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएका थिए । उनले १० हजार अमेरिकी डलर पुरस्कार पाएका छन् । प्रतियोगितामा नेपालका ५ बक्सरले भाग लिएका थिए । उनीहरू आईबीए थ्रीस्टार प्रशिक्षक दीपक महर्जनको प्रशिक्षणमा रहेका खेलाडी हुन् ।
