सुदूरपश्चिम फाइनलमा

क्वालिफायर–वानमा विराटनगर किंग्सलाई एकपक्षीय रूपमा ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार फाइनलमा पुगेको हो।

मंसिर २४, २०८२

हिमेश

Far West in the final

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहास दुई सिजन मात्र पुरानो छ । यही छोटो समयमा पनि एउटा टिमले आफूलाई साँच्चै अब्बल साबित गरेको छ । त्यो टिम हो, सुदूरपश्चिम रोयल्स । यही टिमले मंगलबार लगातार दोस्रोपल्ट एपीएल फाइनल यात्रा तय गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–वानमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई एकपक्षीय रूपमा ७७ रनले पराजित गर्‍यो । 

विराटनगर त्यही टिम थियो, जसले सुदूरपश्चिमलाई लिग चरणमा एकमात्र हारको स्वाद चखाएको थियो । त्यसकै बदला लिने क्रममा सुदूरपश्चिमले त्यस्तो जित निकालेको हो, जसलाई अपूर्व भन्न मिल्नेछ । गत सिजन पनि सुदूरपश्चिम क्वालिफायर–वान जितेर फाइनल पुगेको थियो । तर उपाधिको भिडन्तमा जनकपुर बोल्ट्स् सँग पराजित भएको थियो । अब सुदूरपश्चिमसामु त्यसको पीडा भुलाउने अवसर जुरेको छ ।

‘पक्कै पनि हामी उपाधि नजिक रहेर फेरि चुक्न चाहन्नौं । हाम्रा लागि फाइनल पुग्नुको आफैंमा ठूलो अर्थ छ,’ सुदूरपश्चिमका न्युजिल्यान्ड अलराउन्डर स्कट कुग्लिइनले भने, ‘आज हामी किन जित्यौं भने हामीले योजनाअनुसार प्रदर्शन गर्‍यौं । गत सिजन हामी फाइनलमा पराजित थियौं, त्यो दुर्भाग्यपूर्ण रह्यो । त्यही हारले हामीलाई यसपल्ट उपाधि जित्नका लागि प्रेरित गर्नेछ ।’ 

अब बुधबार इलिमिनेटर हुनेछ । त्यसमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्ने छन् । यसको विजेताले क्वालिफाइनर–टुमा विराटनगरको सामना गर्नेछ । विजेतासामु फाइनलमा सुदूरपश्चिमको सामना गर्ने समीकरण हुनेछ । त्यसको अर्थ के हो भने विराटनगरसामु फाइनल पुग्न थप एक अवसर छ । ‘फाइनलमा अब को पुग्ने हो, त्यो अनुमान मात्रै हो, तर मलाई लाग्छ, यो टिम विराटनगर हुन बेर छैन,’ कुग्लिइनले थपे । 

ब्याटबाट विराटनगरको कमजोर प्रदर्शन

कुग्लिइनको अनुमान सही साबित गर्ने हो भने विराटनगरसामु पहाड जत्तिकै अग्लो चुनौती हुनेछ । किनभने सुदूरपश्चिमविरुद्ध ब्याटबाट उनीहरूको प्रदर्शन सर्वथा कमजोर मात्र रहेन, दयनीय जस्तै बन्यो । जितका लागि १ सय ५६ रन पछ्याएको विराटनगर १४.१ ओभर मात्रै टिकेको थियो । त्यसक्रममा स्कोर बोर्डमा चढेको रन थियो ७८ मात्रै । त्यसबीच विराटनगरको विकेट तासको पत्तिझै एकपछि अर्को ढलेको थियो । 

यो विकेट गुमाउने क्रम इनिङ्सको पहिलो बलबाटै सुरु भयो, जतिबेला साम हेजलेट तिनै कुग्लिइनको बलिङमा शून्यमै दीपेन्द्रसिंह ऐरीबाट समातिए । लगत्तै अनुभवी मार्टिन गप्टिल पनि २ रनमात्र बनाएर रनआउट भए । त्यसपछि अर्को बलमा नरेन भट्ट पनि हरमित सिंहको एक बलमात्र सामना गरेर आउट भए । टिमले ३ रनको स्थितिमा ३ विकेट गुमाएको थियो । 

‘हाम्रो सुरुआत नै खराब रह्यो, ब्याटिङ नै चलेन, जसरी ब्याटिङको पतन भयो, त्यो नै हारको कारण रह्यो,’ विराटनगरका प्राविधिक निर्देशक दीपेन्द्र चौधरीले भने, ‘सात बलमा तीन विकेट गुमेपछि टिमसामु सम्हाल्ने अवसर नै रहेन ।’ बसिर अहमद पनि १२ र लोकेश बम पनि ५ रनमा आउट भएपछि विराटनगर ५ विकेट गुमाई ५० रनको कमजोर स्थितिमा पुग्यो । 

इनिङ्सको अन्त्यतिर मर्च्येन्ट डी ल्याङ्गेले १५ रन बनाए । विराटनगरका लागि ब्याटबाट अलिकति सुदृढ प्रदर्शन गर्ने खेलाडी ओपनर फाफ डु फ्लेसिस मात्र रहे । उनले २९ बलमा ३६ रन बनाए । उनी आउट भएपछि विरानगरको हार औपचारिकता मात्रै बनेको थियो । ‘अब हाम्रा लागि फाइनल प्रवेशको एउटा थप अवसर हुनेछ, त्यसमा यी कमजोरीहरू सच्याएर खेल्ने प्रयास गर्नेछौं ।’

विनोदको अर्धशतकीय प्रदर्शन

सुदूरपश्चिमका बलरमध्ये कुग्लिइन, हरमित र अभिनाश बोहराले २–२ विकेट लिए । सुदूरपश्चिमको जितको आधार तयार पार्ने काम भने ओपनर विनोद भण्डारीले तयार पारेका थिए । उनको ६३ रन मदतमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटमा १ सय ५५ रन बनाएको थियो । निर्विवाद ‘प्लेयर अफ द म्याच’ रहेका विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । 

विनोदसामु पूरा इनिङ्स ‘ब्याट क्यारी’ गर्ने अवसर थियो, तर उनी १९ ओभरको अन्तिम बलम आउट भए । यसबीच उनले सिजनको आफ्नो दोस्रो अर्धशतक भने पूरा गरे । सुदूरपश्चिमको इनिङ्स पनि आफैंमा सुमधुर रहेन । विनोदलाई छाडेर सेल्डन ज्याक्सन र आरिफ शेखले समान २० रन बनाए । दुवैले समान २ चौका र १ छक्का प्रहार गरे । हरमितले १४ र इशान पाण्डेले १३ रन बनाए । कसैले पनि विनोदलाई बलियो साथ दिन सकेनन् । 

नरेनले बाउन्ड्रीमा जसरी इशानको ‘क्याच’ लिए, त्यो भने आफैंमा विशेष रह्यो । यही मात्र यो खेलमा विराटनगरका लागि सम्झनलायक प्रदर्शन रह्यो । विराटनगरका लागि ल्याङ्गे र प्रतिश जीसीले २–२ विकेट आफ्नो नाममा लेखाए । विराटनगर एक दिन आराम गरेर फेरि बिहीबार मैदानमा उत्रनेछ । सुदूरपश्चिमसामु भने फाइनल तयारीका लागि तीन दिनको पर्याप्त समय हुनेछ । 

हिमेश

Link copied successfully