सोमबार फाइनल खेलमा गाईघाट युनाइटेड उदयपुरलाई १-० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरीले उपाधि जितेको हो ।
सुनसरी — प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राष्ट्रिय जागृति क्लब इटहरीले जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेड उदयपुरलाई १-० गोल अन्तरले पराजित गर्दै जागृतिले उपाधि जितेको हो ।
जागृतिलाई उपाधि जिताउन प्रवेश बस्नेतले निर्णायक गोल गरे । बस्नेतले दोस्रो हाफको आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । राष्ट्रिय जागृतिले उपाधिसँगै २ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको गाईघाट युनाइटेडले १ लाख रुपैयाँ हात पार्यो ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी राष्ट्रिय जागृतिका प्रवेश दनुवार घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।
मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित आठ टिमको सहभागिता थियो ।
