ट्रान्सपोर्टले आफ्ना दुवै खेलमा एक पनि गोल गर्न सकेको छैन ।
काठमाडौँ — उपाधिको प्रत्यासी इस्ट बंगालले वुमेन्स साफ क्लब च्याम्पिनयसिपमा सोमबार ट्रान्सपोर्ट युनाइटेडलाई ४–० ले पराजित गरेको छ । यससँगै भारतीय च्याम्पियनले ३ अंक बटुलेको छ र ५ टिममध्ये संयुक्त रूपमा पहिलो स्थानमा रह्यो ।
नेपालको एपीएफको पनि ३ अंक रहेको छ । दशरथ रंगशालामा भएको खेलमा इस्ट बंगालका लागि कप्तान फजिलो इक्वापुटले दुई गोल गरिन् । युगान्डाकी इक्वापुटले ३६ र ७२ औं मिनेटमा गोल गरिन् ।
यस्तै सुलजना राउलले ६० तथा रेस्टी नानजिरीले ६३ औं मिनेटमा गोल गरे । भुटानको ट्रान्सपोर्टले खेलमा राम्रो सुरुआत गरे पनि निर्णायक आक्रमण भने बुन्न सकेन ।
उसको यो दोस्रो खेल हो र त्यसमा एक बराबरीको नतिजासहित एक अंक रहेको छ । ट्रान्सपोर्टले आफ्ना दुवै खेलमा एक पनि गोल गर्न सकेको छैन । सोमबारको अर्को खेलमा पाकिस्तानको कराँची युनाइटेड र बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीबीच खेल हुनेछ ।
