अब अस्ट्रेलिया फेरि एकपल्ट एसेज टेस्ट सिरिज जित्ने संघारमा पुगेको छ । एडिलेड, मेलबर्न र सिड्नीमा बाँकी तीन टेस्ट हुनेछन् । कप्तान स्मिथले आफ्नो टिमको जितलाई सानदार रहेको बताए ।
What you should know
काठमाडौं — अस्ट्रेलियाले एसेज सिरिजको दोस्रो दिवारात्रि टेस्ट क्रिकेटमा इंग्ल्यान्डलाई आइतबार ८ विकेटले पराजित गरेको छ । यससँगै ५ खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।
इंग्ल्यान्डका लागि यो चिन्ताको विषय हुनेछ । अस्ट्रेलियालाई जितका लागि ६५ रनको मात्र लक्ष्य पाएको थियो । यसक्रममा कप्तान स्टिभ स्मिथले गुस एटकिन्सको बलमा छक्का प्रहार गर्दै जित निश्चित गरेका थिए ।
पर्थमा भएको पहिलो टेस्ट दुई दिनभित्र गुमाएको इंग्ल्यान्डका लागि अहिलेको हार त्यति धेरै खराब रहेन । तर दोस्रो टेस्टमा पनि इंग्ल्यान्डमाथि अस्ट्रेलिया पूर्णतः हाबी रह्यो, प्रतिस्पर्धाका सबै विधामा । अब अस्ट्रेलिया फेरि एकपल्ट एसेज टेस्ट सिरिज जित्ने संघारमा पुगेको छ । एडिलेड, मेलबर्न र सिड्नीमा बाँकी तीन टेस्ट हुनेछन् । कप्तान स्मिथले आफ्नो टिमको जितलाई सानदार रहेको बताए ।
इंग्लिस बलर जोफ्रा आर्चरसँग झगडामा उत्रेका स्मिथले भने, ‘आजको टिम गजब रह्यो । सुरुआती दुई टिम बराबरीको स्थितिमा रहे । तर कृत्रिम प्रकाशमा नयाँ बलले आक्रमण गर्ने अवसर पाएपछि खेल हाम्रो पक्षमा मोडियो । पिंक बलमा खेल्नु गाह्रो हुने गर्छ र यसले खेल एकाएक परिवर्तन गर्न सक्छ ।’
नभन्दै इंग्ल्यान्डका लागि अबका दिन निकै कठिन हुने तय जस्तै छ । पहिलो इनिङ्स जो रुट र ज्याक क्राउली तथा दोस्रो इनिङ्समा बेन स्टोक्स र विल ज्याकले मात्र केही सुदृढ खेले भने बाँकी खेलाडीको प्रदर्शन औसतभन्दा तल रह्यो । गाबाको पिचमा इंग्लिस ब्याटरले खराब सट खेल्दै सस्तोमा आफ्नो विकेट अस्ट्रेलियाली बलरलाई दिए । इंग्ल्यान्डको बलिङ पनि राम्रो रहेन, उसले कृत्रिम प्रकाशमा नयाँ बलको फाइदा नै उठाउन सकेन ।
अस्ट्रेलियाका लागि भने प्याट कमिन्स र जस हेजउलडविना पनि उत्तिकै घातक बलिङ गरेको थियो । त्यतिमात्र होइन, इंग्ल्यान्डको फिल्डिङ झन खराब रह्यो र अस्ट्रेलियाको पहिलो इनिङ्समै टोलीले पाँच क्याच छाडेको थियो । अस्ट्रेलियाली खेलाडीले भने मैदानमा आफ्नो हातमा आएका कुनै पनि ‘क्याच’ छुटाएनन् । स्टोक्सलाई पहिलो इनिङ्समा जस इंग्लिसले जसरी रनआउट गरे, त्यसले खेलको मोड नै फेरेको थियो ।
‘पक्कै पनि सबथोक खराब रह्यो,’ स्टोक्सले स्वीकारे, ‘दबाबमा हामी कसैले पनि खेल्ने सकेनौं । टेस्टमा बराबरीको स्थितिबाटै खेल आफ्नो पक्षमा पार्ने हुन्छ । हामीले यस्तो गर्न सकेनौं ।’ अस्ट्रेलियाका पुछारका ब्याटरले आफ्नो पहिलो इनिङ्समा ५ सय ११ रन खडा गर्न सहयोग गरेपछि नै इंग्ल्यान्ड १ सय ७७ रनले पछाडि रहेको थियो । त्यसयता इंग्ल्यान्डले आफूलाई सम्हाल्न नै सकेन ।
तेस्रो दिन अस्ट्रेलियाले कृत्रिम प्रकाशमा दोस्रो इनिङ्समा ६ विकेट गुमाएको थियो । त्यति बेला इंग्ल्यान्ड १ सय ३४ रनको स्थितिमा पुग्यो । त्यो ४३ रनले पछाडि परेको स्थिति थियो । धेरैलाई लागेको थियो, त्यही स्थितिमा इंग्ल्यान्डले टेस्टमा आत्मसमर्पण गर्नेछ, तर स्टोक्स र ज्याकले ब्याटबाट केही रन बटुलेपछि अस्ट्रेलिया फेरि एकपल्ट ब्याटिङमा ओर्लिन बाध्य रह्यो ।
