अस्ट्रेलियाको मेलबर्नमा हुने प्रतियोगिता २०२६ को जनवरी १४ देखि ३० सम्म हुनेछ ।
काठमाडौँ — युवा टेनिस खेलाडी शिभाली गुरुङले ग्राण्ड स्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन खेल्ने भएकी छन् । शिभालीले नेपालबाट ग्रान्ड स्लाम टेनिस खेल्ने पहिलो खेलाडीको इतिहास रच्ने भएकी छन् । वर्षको पहिलो ग्रान्ड स्लामको रुपमा अस्ट्रेलियन ओपन अर्को महिना सुरु हुनेछ ।
शिभालीले अस्ट्रेलियन ओपनको १४ वर्षमुनिको जुनियर इलिट विधामा प्रतिस्पर्धा गर्नेछिन् । अस्ट्रेलियाको मेलबर्नमा हुने प्रतियोगिता २०२६ को जनवरी १४ देखि ३० सम्म हुनेछ । शिभाली ग्रान्ड स्लाम खेल्ने नेपालको पहिलो खेलाडी हुन् । उनले उमेर समूहको प्रतियोगितामा उच्च प्रदर्शन गर्दै ग्रान्ड स्लामको यात्रा तय गरेकी छन् । शिभाली हाल १४ वर्षमुनिको एसिया वरीयताको तेस्रो नम्बरमा छन् । एसियाको तेस्रो वरीयतामा पुग्ने उनी पहिलो टेनिस खेलाडी हुन् ।
शिभालीले ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम आईटीएफ/एटीएफअन्तर्गत टेनिस टु युरोप कार्यक्रममा फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशमा गएर प्रशिक्षण गरेकी थिइन् ।
शिभालीले शुक्रबार मात्र पोखरामा सम्पन्न आईटीएफ जे ३० फस्ट विक प्रतियोगितामा सिंगल्स र डबल्स विधामा दुई स्वर्ण जितेकी थिइन् । भर्खरै १४ वर्षमा प्रवेश गरेकी शिभाली आईटीएफ जे ३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छन् ।
