अन्ततः आर्सनल पराजित

यससँगै आर्सनलको १८ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

मंसिर २१, २०८२

एएफपी

Arsenal finally defeated

बर्मिङ्घम — इमिलिनो बुन्डिआले खेलको अन्तिम क्षणमा गरेको गोलमा एस्टन भिल्लाले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनललाई २–१ ले पराजित गरेको छ । यससँगै आर्सनलको १८ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । भिल्ला पार्कमा मिखेल आर्टेटाको आर्सनल टिम म्याट क्यासको गोलले पछाडि परेको थियो । 

त्यसपछि लियान्ड्रो ट्रोसार्डले बेञ्चबाट आएर बराबरी गोल गरे । खेल बराबरीतर्फ अग्रसर भएका बेला अर्जेन्टिनी खेलाडी बुन्डिआले आर्सनलको कमजोर डिफेन्सको फाइदा उठाएर निर्णायक गोल गरे । यो नै खेलको लगभग अन्तिम प्रहार जस्तै रह्यो । सबै खाले प्रतियोगितामा अगस्ट ३१ यता आर्सनलको यो पहिलो हार हो । त्यतिबेला आर्सनल लिभरपुलसँग पराजित भएको थियो । 

पछिल्ला केही सिजनमा आर्सनलका लागि उपाधि होडमा भिल्ला अधिकांस समय अवरोधका रूपमा रहने गरेको छ र यही क्रम फेरि एकपल्ट देखापर्ने स्थिति बनेको छ । आर्सनलकै पूर्वप्रशिक्षक उनाइ एमरीको नेतृत्वमा भिल्लाले कमजोर सुरुआतलाई ओझेलमा पार्दै सबै खाले प्रतियोगिताका ७  खेलमा लगातार जित निकालेको छ । भिल्लाको १५ खेलबाट ३० अंक भएको छ । आर्सनल ३३ अंकसहित शीर्षमा कायम छ । 

एएफपी

Link copied successfully