टस जितेपछि ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो ।
What you should know
काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको दोस्रो खेलमा चितवन राइनोजलाई सानो स्कोरमै रोकेको छ । टस जितेपछि ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो ।
७ रन बनाउँदा ३ विकेट गुमाइसकेपछि चितवन त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा पूरा इनिङ्स दबिएर खेलेको थियो । अर्जुन साउद र रबि बोपारा १–१ तथा डेबिड मलान ५ रनमै आउट भए । सैफ जैबले १८ बल खेली १ छक्का प्रहार गर्दै १७ रन बनाए ।
देव खनालले सर्वाधिक ३५ रन बनाए । उनले ४१ बल खेली समान १ चौका र छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २३ बल खेलि २३ रन बनाए । उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । युगान्डाका खेलाडी अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाएपछि मात्र चितवनले १ सय रन पार गरेको थियो ।
प्रतियोगितामा पहिलो खेल खेलिरहेका उनले २२ बल खेली १ चौका र २ छक्का प्रहार गरे । कमलसिंह ऐरी ३ बलमा २ रन बनाई अविजित रहे । आफ्नै बलिङका क्रममा घाइते भएका धनन्जय लक्षणले आफ्नो बलिङ कोटा पूरा गर्न सकेनन् । उनले ३.२ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । विपिन खत्री, किरण ठगुन्ना र प्रतियोगितामा पहिलो खेल खेलिरहेका रोहित चन्दनले १–१ विकेट लिए ।
यी दुवै टोली यसअघि प्लेअफ दौडबाट बाहिरिसकेका छन् । ६ खेलमा दुवैको ४ अंक छ । विजयी हुने टोली पाँचौं हुनेछ । गत सिजन चितवनले पोखरालाई ८७ रनले पराजित गरेको थियो । दुवै सिजनमा गरेर पोखरा प्लेअफमा नपुग्ने एकमात्र टोली हो ।
