एपीएफको प्रभावशाली सुरुआत

दशरथ रंगशालामा भएको खेलमा एकातर्फ एपीएफले लगभग सबै राष्ट्रिय टिमका खेलाडी उतारेको थियो । अर्कोतर्फ बंगलादेशी टिम भने किशोर खेलाडीले भरिएको थियो । एपीएफले सन्तोष मान्नुपर्ने तथ्य के हुनेछ भने टोलीले ३ अंक बटुलेको छ ।

मंसिर २०, २०८२

हिमेश

APF's impressive start

What you should know

काठमाडौँ — साफ वुमेन्स क्लब च्याम्पिनयसिपको सुरुआतसँगै दक्षिण एसियाली महिला फुटबल शुक्रबार नयाँ अध्याय प्रवेश गरेको छ । त्यसको इतिहासमा लेखिनेछ, पहिलो गोल रश्मिकुमारी घिसिङले गरिन् । उनकै दुई गोलमा एपीएफ क्लब बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीविरुद्ध ४–० ले विजयी रह्यो । मीना देउवाले पनि दुई गोल गरिन् ।

तर नेपाली लिग च्याम्पियन टिमका लागि भने एउटा तथ्यमा गुनासो रहनेछ, उमेर समूहका खेलाडीले भरिएको नसरिनलाई हराउन केही संघर्ष गर्नुपर्‍यो ।

दशरथ रंगशालामा भएको खेलमा एकातर्फ एपीएफले लगभग सबै राष्ट्रिय टिमका खेलाडी उतारेको थियो । अर्कोतर्फ बंगलादेशी टिम भने किशोर खेलाडीले भरिएको थियो । एपीएफले सन्तोष मान्नुपर्ने तथ्य के हुनेछ भने टोलीले ३ अंक बटुलेको छ । खुसीको एउटा उपलब्धि चाहिँ के रहनेछ भने राष्ट्रिय टिमका लागि खट्दा थाकेका खेलाडीले मैदानमा त्यसलाई बहाना बनाएनन् ।

‘आज हाम्रा खेलाडीले जति खेले, त्यो नै ठूलो हो । त्यस अर्थमा पनि जितमा हामी खुसी छौं,’ एपीएफका प्रशिक्षक जीवेश पाण्डेले भने, ‘अब टिमले केही दिन आराम पाउने छ । त्यसपछि टिमको प्रदर्शनमा सुधार हुनेछ ।’ इन्डोनेसिया गएको राष्ट्रिय टिम प्रतियोगिता सुरु हुनु एक दिनअघि मात्रै लामो यात्रापछि काठमाडौं आइपुगेका थियो । त्यसैले खेलको सुरुमा टिममा समन्वयको कमी देखियो ।  

रश्मिकुमारीले ३८ औं मिनेटमा गोलको खाता खोलिन् । उनले मीना देउवाको ब्याकपासमा बललाई सजिलै पोस्टको दिशा दिइन् । मीनाले ७१ औं मिनेटमा दोस्रो गोल थपिन् । उनले एक्लै बल अगाडि बढाउँदै आकर्षक गोल गरिन् । रश्मिले ८१ औं मिनेटमा तेस्रो गोल थपिन् र यसका लागि उनले पेनाल्टी एरियाबाट सहज प्रहार गरिन् । मीनाले दोस्रो हाफको इन्ज्युरी समयमा चौथो तथा व्यक्तिगत दोस्रो गोल गरिन् । 

यससँगै एपीएफ ३ अंकसहित शीर्षस्थानमा रह्यो । नसरिन अंकविहीन रह्यो । ‘हामी पनि टिमको प्रदर्शनमा खुसी छौं,’ बंगलादेशी टिमका प्रशिक्षक मोनिर हुसेनले भने, ‘एपीएफ नेपालको राष्ट्रिय टिम जत्तिकै हो । यही टिमविरुद्ध हाम्रो उमेर समूहका खेलाडीले राम्रो खेले । हाम्रा खेलाडी कम अनुभवी छन्, त्यसैले लामो समय एपीएफलाई रोक्न सकेनन् । चिसो मौसमले पनि हाम्रो प्रदर्शन प्रभावित रह्यो ।’ 

दिनको पहिलो तथा उद्घाटन खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडले कराँची सिटी एफसीमाथि दबाब त कायम राख्यो, तर गोल निकाल्न सकेन । मैदानमा भुटानी टिम नै बलियो देखिएको थियो, तर पाकिस्तानी लिग च्याम्पियन एक अंक हात पार्न सफल रह्यो । त्यसैले भुटानी प्रशिक्षक येसी वाङचुकले बराबरीको नतिजामा निराशा पोखे । पाकिस्तानी प्रशिक्षक एडिल मिर्जा रिज्कीले बराबरीलाई राम्रो माने । उनले के स्विकारे भने अबका खेलमा टिमको प्रदर्शनमा सुधार आवश्यक छ । 

हिमेश

Link copied successfully