लिग तालिकामा सुदूरपश्चिमको १२, काठमान्डु गोर्खाजको १० र विराटनगर तथा लुम्बिनीको समान ८ अंक भएको छ ।
What you should know
काठमाडौँ — लिग चरणका तीन खेल बाँकी छँदै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेल्ने चारै टिमको टुंगो लागेको छ । अब ती बाँकी टिमको एउटै ध्यान हुनेछ, शीर्ष चारको टिम वरीयता तय गर्ने । त्यसमध्ये पनि सुदूरपश्चिम रोयल्स पहिलो स्थानमै रहने र टोलीले पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । लुम्बिनी लायन्सले शुक्रबार आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएर हरायो ।
यससँगै लुम्बिनी प्लेअफ पुग्ने चौथो टिम बनेको हो । यो नतिजासँगै जनकपुरसहित चितवन राइनोज र पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना औपचारिक रूपमा समाप्त भएको थियो । कर्णाली याक्सको यसअघि नै चुनौती सकिसकेको छ । डिफेन्डिङ च्याम्पियन जनकपुरको एक खेल अझै बाँकी छ । अहिलेका लागि जनकपुर २ अंकमै सीमित रहेर आठ टिममध्ये निराशाजनक रूपमा सबैभन्दा अन्तिम स्थानमा छ ।
लिग तालिकामा सुदूरपश्चिमको १२, काठमान्डु गोर्खाजको १० र विराटनगर तथा लुम्बिनीको समान ८ अंक भएको छ । त्रिवि क्रिकेट रंगशालामा जितका लागि १ सय ३३ रनको लक्ष्य पाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रन बनायो । त्यसमा दिलीप नाथ १५ र रुबेन ट्रम्पलमेन ६ रनमा नटआउट रहे । दिलीपले छक्का प्रहार गर्दै जितको औपचारिकता पूरा गरे ।
ओपनर सुमित महर्जन आफूले सामना गरेको पहिलो बलमै खाता नखोलेर संगीत कोरेको बलमा बोल्ड भए । कोरेकै बलमा डी’आरसी शट ३० रन बनाएर एलबीडब्लू भए । शटले २४ बलमा एक चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित पौडेल भने ३२ बलमा ३४ रन बनाएर मयन यादवको सिकार बने । रोहितले दुई चौका र एक छक्का प्रहार गरे । सन्दीप जोरा पनि शून्यमै आउट भए । जेजे स्मिटले १९ बलमा २१ रन थपे । कोरेले २५ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाई १ सय ३२ रन बनाएको हो । टोलीका लागि ठूलो स्कोर नै कोरेले बनाएको ४५ रन रह्यो । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर माज सदाकतले ६ रनमात्रै बनाए । अर्को ओपनर आसिफ शेखले भने १७ बलमा २० रन जोडे ।
अनिल साहले पनि ७ रनभन्दा बढी बनाउन सकेनन् । शुभ कंसाकार पनि ११ रनमै आउट भए । सञ्जय कृष्णमूर्तिको ब्याटबाट १४ रनमात्रै सम्भव भयो । मयन यादवले २७ रनको योगदान दिए । लुम्बिनीका बलरमध्ये शेर मल्लले २० रनमा २ विकेट लिए । कप्तान रोहितले पनि १५ रन खर्चेर २ विकेट हात पारे । खेलपछि रोहितले आफ्नो टिम प्लेअफ पुग्नेमा विश्वास रहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘टिममा आत्मविश्वसास थियो । सबै खेलाडीले आ–आफ्नो भूमिका मैदानमा निभाए । यो जितको श्रेय खेलाडीलाई नै जान्छ । टिमले एकदमै राम्रो खेले जस्तो लाग्छ । हाम्रा लागि यसपल्टको यात्रा निकै भावनात्मक रह्यो । पछिल्लो सिजन सोचेजस्तो भएन, अंक तालिकाको पुछारमा रह्यौं । यो सिजन हामीले आफूलाई प्रमाणित गर्नु थियो । मलाई लाग्छ, टिमले यसपल्टको प्रतियोगितामा पुनरागमन रचेको छ ।’
‘हामीले चाहेजस्तो सुरुआत पाएनौं,’ जनकपुर टिमको कप्तानी भूमिकामा रहेका जान निकोल लफ्टी–इटनले भने, ‘तर हामीले कम्तीमा प्रतिस्पर्धात्मक स्कोर भने खडा गर्यौं । त्यसपछि बलिङ पनि हामीले चाहे जस्तो रहन सकेन । डिफेन्डिङ च्याम्पियन रहेर पनि प्लेअफ पुग्न नसक्नु हाम्रो लागि निराशाजनक नै रह्यो । अब अन्तिम खेलमा हामी आफ्ना समर्थकको प्रतिष्ठाका लागि खेल्नेछौं ।’
