महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी

कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको ‘बी’ समूह चरणको आफ्नो अन्तिम खेल जितेर पुलिस क्लब अन्तिम चारमा पुगेको हो ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Women's Volleyball Tournament: Nepal Police Club wins

झापा — झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको शुक्रबारको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको ‘बी’ समूह चरणको आफ्नो अन्तिम खेल जितेर पुलिस क्लब अन्तिम चारमा पुगेको हो । पुलिस क्लब ‘बी’ समूहको विजेता भएको छ ।

पुलिस क्लबले १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा कोशी प्रदेश भलिबल सङ्घलाई जितेको थियो । अब कोशी भलिबल संघको टोली प्रतियोगिताबाट बाहिरिएको छ ।  खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी आशिका क्षेत्री भइन् । उनलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो ।

शनिबार दुई सेमिफाइनल

प्रतियोगितामा शनिबार दुईवटै सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यू डायमन्डबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता पुलिस क्लब र समूह ‘ए’ उपविजेता त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुनेछ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, दोस्रोले एक लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

कान्तिपुर

Link copied successfully